
विराटनगर । काठमाडौंबाट भोजपुर जाँदै गरेको यात्रुवाहक बस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीमा दुर्घटना भएको छ ।
दुर्घटनामा २ जनाको मृत्यु भएको छ । मृतकको पहिचान खुल्न बाँकी छ । बसमा ३२ जना सवार थिए । ३० जना घाइते भएको सिन्धुली प्रहरी प्रमुख एसपी गोविन्दराज काफ्लेले जानकारी दिए । उनका अनुसार घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ ।
बस आफैं अनियन्त्रित भएर द्वार खोलाको पुलमा ठोक्किएको जानकारी काफ्लेले दिए । उनका अनुसार दिउँसो ३ बजेतिर दुर्घटना भएको हो ।
बागमती प्रदेश ०१–००६ ख ६७८५ नम्बरको बस दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी छ ।























