विराटनगर । दसैंमा अरूबेला भन्दा मासुको सेवन अधिक हुन्छ ।
दसैंका लागि मासुको अत्याधिक प्रयोग गर्ने परम्परा पुरानो हो । मासु आफैँमा अत्यधिक बोसो हुने हुन्छ । त्यसमाथि यस बेलामा थप स्वादका लागि बढी तेल, मसला राखेर पकाउने गरिन्छ ।
चाडपर्वको बेलामा अस्वस्थकर खाना खाने मात्र नभएर खाना पकाउने शैली पनि गलत अपनाइरहेका हुन्छौँ । यसरी जिब्रोको स्वादका लागि गरिएको परिवर्तनले विभिन्न रोगको जोखिमलाई बढाउँछ ।
शरीरको आवश्यकताअनुसार मात्रै मासु र अन्य खानेकुराको सेवन गर्नु उपयुक्त हुन्छ । रातो मासुको बढी सेवनले थाइराइड, मधुमेह, रक्तचाप, मिर्गौला, मुटुको समस्यालगायतका नसर्ने रोगको जोखिम बढाउँछ । रक्तचाप, मुटुको समस्या भएका मानिसले मासुको सेवन गर्दा अत्यधिक ध्यान पुर्याउनुपर्ने हुन्छ ।
रोग लागेका मानिसले खानपानमा ध्यान दिन आवश्यक हुन्छ नै । तर, स्वस्थ मानिसले पनि वर्षमा एकपटक आउने चाडपर्व सोचेर खानपानमा लापरबाही भने गर्नुहुँदैन ।
आहारविद् तथा पोषण विशेषज्ञ ओमप्रकाश साहका अनुसार दसैंको समयमा खसी वा रातो मासु (चार खुट्टे जनावरको मासु) बढी प्रयोग गरेको पाइन्छ, तर यस्तो रातो मासु स्वास्थका लागि राम्रो मानिँदैन ।
उनका अनुसार ठिक्क मात्रामा (४० देखि ५० ग्राम) ह्वाइट मिट अर्थात् बोसो र छालारहित सेतो मासु (माछा, कुखुरा वा पलुट्री) को सेवन गर्न एकदम सुरक्षित हुन्छ ।
मासुलाई पकाउने तरिकाले पनि फरक पार्ने हुन्छ । धेरै तेल, चिल्लो, बोसो तथा मसला राखेर पकाइएको मासु वा अन्य खानेकुरा शरीरका लागि हानिकारक हुने उनको भनाइ छ ।
युरिक एसिड, सुगर, डायबिटिज र ब्लडप्रेसर भएका बिरामीले रातो तथा बोसोयुक्त मासु सकभर खानुहुन्न । रक्तचाप तथा मुटुरोगीहरूका लागि मासुको सेवन भन्दा पनि कम तेलमा पकाइएको माछाको सेवन उचित हुन्छ । हरियो सागसब्जी, फलफूलको सेवन गर्नुपर्छ ।
रक्तचापका बिरामीका लागि प्याक्ड खाना, फ्राइड खाना, तेल धेरै भएको खानालाई प्रतिबन्धित गरी दैनिक ४ देखि ५ ग्राम मात्र नुनको सेवन गर्न उचित हुन्छ ।
मधुमेहको समस्या भएका, कोभिडका बिरामी र सङ्क्रमणबाट निको भएका बिरामीका लागि समग्रमा भन्दा हाई प्रोटिन डाइटको सेवन गर्नु उपयुक्त हुन्छ ।
मधुमेहका बिरामीलाई सकेसम्म कम मात्रामा कार्बोहाइड्रेट दिने गरिन्छ । प्रोटिनमा पनि बोटबिरुवाबाट प्राप्त हुने प्रोटिन मधुमेहका बिरामीका लागि राम्रो हुने हुँदा यस्ता मानिसलाई रिफाइन नगरिएको गेडागुडी, दालको सेवन गर्नु राम्रो हुन्छ ।