
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला अदालत काठमाडौंले दुई लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश उमेशप्रसाद मैनालीको इजलासले साइबर अपराधसम्बन्धी मुद्दामा प्रसाईंलाई उक्त रकम धरौटी लिएर रिहा गर्न आज (मंगलबार) आदेश दिएको हो ।
नेपाल प्रहरीको साइबर ब्युरोले उनलाई असोज १२ गते पक्राउ गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडाले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको थियो ।
खतिवडा जेन–जी शहीद रसिक खतिवडाकी आमा हुन् । प्रसाईंले सामाजिक सञ्जालमार्फत शहीदलाई लिएर अपमानजनक टिप्पणी गरेको आरोपमा उनीविरुद्ध साइबर अपराधमा अनुसन्धान भइरहेको थियो ।
प्रसाईं यसअघि पनि विभिन्न आरोपमा पक्राउ पर्दै आएका छन् । गत साउन १८ गते सर्वोच्च अदालतको आदेशपछि उनी रिहा भएका थिए ।
त्यसैगरी, गत भदौ ४ गते प्रहरीले उनको घरमा खानतलासी गरेको थियो । सर्वोच्च अदालतको आदेशपछि प्रहरीले उनको घरबाट बरामद गरेका सामान फिर्ता गरेको थियो ।
यस पटकको पक्राउविरुद्ध पनि सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर भएको थियो । उक्त रिट विचाराधीन रहेकै अवस्थामा जिल्ला अदालतले प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

























