काठमाडौं । दशैं जारी छ । आज पनि टीका लगाउने क्रम चलिरहेको छ । तर, टीका किन लगाउने ? त्यो पनि निधारको बिचमा टीका लगाउनुको अर्थ के होला ? धेरैको मनमा यो जिज्ञासा हुनसक्छ ।
निधारको मध्यबिन्दुमा वा दुई आँखीभौंको बीचमा टीका लगाइन्छ । चाहे पूजाआजामा होस् वा दशैं जस्तो चाडपर्वमा, धार्मिक आस्थाको हिसाबले होस् वा सोह्र श्रृंगारमा । निधारमा टीका लगाउने प्रचलन छ ।
भनिन्छ, ‘प्रत्येक व्यक्तिमा तीनवटा आँखा हुन्छ ।’ दुईवटा भौतिक आँखा, जसले हामी सांसरिक दृश्य देख्छौं । त्यस्तै अर्को हुन्छ, आत्मिक आँखा । के मान्यता छ भने दुईवटा आँखीभौंको माझमा त्यो आँखा हुन्छ । यसलाई तेस्रो नेत्र वा ज्ञानचक्षु वा आज्ञाचक्र नामले पुकारिन्छ ।
हाम्रो सनातन संस्कृतिमा प्रत्येक पर्वमा टीका लगाउने प्रचलन छ । यसको सांकेतिक अर्थ भनेको तेस्रो आँखा खुलोस् भन्ने हो । टीका लगाउँदा होस् वा उपासना गर्ने क्रममा तेस्रो आँखा खुलोस् भनेर आशिर्वाद दिने चलन पनि छ ।
तेस्रो आँखा एकदमै संवेदनशील हुने भएकाले उनीहरूले सधैं निधारमा रातो टीका लगाउँछन् । रातो रंग शक्तिको प्रतीक पनि हो । महिला मात्र हैन, पुरुषहरूले पनि निधारमा कुमकुमको टीका लगाउने गर्छन् । टीका लगाउँदा तेस्रो आँखा सक्रिय होस् भनेर यो चलन चलेको हो ।
निधारमा नै किन टिका ?
निधार शरीरको ‘देवस्थान’ हो, जसको अर्थ देवताहरूको वासस्थान हो । त्यसैले निधार खाली नराख्ने, कम्तीमा त्यसमा केही न केही लगाउनुपर्छ भनिन्छ । टीकालाई निधारमा लगाइन्छ जहाँ आज्ञाचक्र अवस्थित हुन्छ ।
आज्ञाको अर्थ– ‘बोध गर्नु’ वा ‘आदेश’को रूपमा, आज्ञाचक्र ‘अन्तरज्ञानको आँखा’को रूपमा मानिन्छ, जसको माध्यमले एक व्यक्तिले धेरै कुरा बुझ्न सक्छ । जुन भौतिक आँखाले देख्न सकिंदैन । त्यसैले त्यो आज्ञाचक्रलाई सक्रिय बनाउन निधारमा टीका लगाउने गरिन्छ ।
टीका कुनै एक प्रकारको मात्र हुँदैन । धेरै प्रकारको हुन्छ र फरक–फरक विचार÷धर्मले यसलाई फरक तरिकाले लागू गर्छन् । अक्षता र कुमुकम, चन्दन, भस्म र विभूति लगायतका टीका लगाउने चलन छ ।
हिन्दू धर्ममा प्रायः रातो टीका लगाउने चलन छ । रातो रंग सुख, शान्ति, समृद्धि र सौभाग्यको प्रतीक हो ।
सबै प्रकारका टीकाको एउटै अर्थ छैन फरक–फरक छ । चन्दनको टीका लगाउँदा शीतलता प्रवाह हुन्छ । चन्दन जब सुक्छ तब यसले आज्ञाचक्रमा दबाब दिन्छ । यसले आज्ञाचक्रमुनिको पिट्युटरी ग्रन्थि र पिनेल ग्रन्थिलाई उत्तेजित गर्छ, यो ग्रन्थिलाई मास्टर ग्रन्थि पनि भनिन्छ । साथै जब निधारमा चन्दनको टीका लगाइन्छ यसले हामीलाई थप सचेत, सतर्क बनाउँछ र शरीरमा सकारात्मक ऊर्जा प्रवाह गर्छ ।
टीका रंग समयअनुसार फरक–फरक लगाइन्छ । सेतो शान्तिका लागि, पहेंलो पितृ कार्यहरूमा, रातो र कालोलाई शक्तिको प्रतीकको रूपमा लिइन्छ ।
हिन्दू धर्ममा प्रायः रातो टीका लगाउने चलन छ । रातो रंग सुख, शान्ति, समृद्धि र सौभाग्यको प्रतीक हो । सेतो टीका पनि धेरैले लगाउने गर्छन् त्यसको अर्थ शान्ति, सुख र आत्मीयताको प्रतीक हो ।
त्यस्तै अघोर साधकहरूले भैरव र कालीमाताको पूजा गर्दा कालो टीका पनि लगाउने गर्छन् । पितृ कार्यहरूमा पहेंलो टीका पनि लगाइन्छ, पहेंलो टीका आध्यात्मिकता र साधनाको प्रतीक हो ।