मोरङको सुनवर्षीमा बालिका मृत फेला

Share this
744shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज २९, मंगलबार २०:५७

विराटनगर । मोरङको सुनवर्षीमा १ बालिका मंगलबार मृत फेला परेकी छन् । सुनवर्षी नगरपालिका–६ की १५ वर्षीया प्रीतिकुमारी पासवान मृत फेला परेको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका निमित्त प्रवक्ता एवं इन्स्पेक्टर हेमराज ओलीका अनुसार घरदेखि अन्दाजी ६ सय मिटर उत्तर–पूर्वस्थित डाइनिया–अमरदह भित्री सडक खण्डको पानी जमेको खाल्डोमा बिहान ११ बजेतिर घोप्टो परेको अवस्थामा बालिकालाई फेला पारिएको थियो । उपचारका लागि रंगेली अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको जानकारी ओलीले दिए ।

प्रहरीका अनुसार बालिका बिहान घरबाट साइकलमा निस्किएकी थिइन् । घर फर्किएर नआएपछि खोजी गर्ने क्रममा पानी जमेको खाल्डोमा घोप्टो परेको अवस्थामा उनी भेटिएको प्रहरीले जनाएको छ ।

साइकल भने सडकमै लडिरहेको अवस्थामा फेला परेको थियो । शवलाई पोस्टमार्टमका लागि रंगेली अस्तपालमै राखिएको छ ।

मृतक प्रीतिकुमारीका बुवा रामप्रसाद पासवान वैदेशिक रोजगारीमा दुबईमा रहेको प्रहरीले जनाएको छ । छोरीको मृत्युको खबर सुनेपछि उनी नेपाल फर्किने तयारीमा रहेको बताइएको छ ।

बुवा आएपछि मात्रै शवको पोस्टमार्टम गर्ने तयारी प्रहरीले गरेको छ । बालिकाको मृत्युको कारण खुल्न बाँकी रहेको र घटनाको अनुसन्धान सुरु गरिएको इन्स्पेक्टर ओलीले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर सन्तोषकुमार खड्का नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान अघि बढाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.