
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको अनुशासन आयोगका उपप्रमुख यज्ञमणि न्यौपानेको राजीनामा स्वीकृत गरेको छ ।
उनले दसैंअघि नै पदबाट राजीनामा दिएका थिए । पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार न्यौपानेको राजीनामा स्वीकृत भइसकेको छ । उनले पार्टीबाट नभइ अनुशासन आयोगबाट मात्रै राजीनामा दिएको बुर्लाकोटी बताउँछन् ।
उनका अनुसार पार्टीमा सक्रिय राजनीति गर्न न्यौपानेले आयोगबाट राजीनामा दिएका हुन् । न्यौपाने कानुन व्यवसायीसमेत हुन् । उनले रास्वपाको अनुशासन आयोगमा रहेर २ वर्ष काम गरेका थिए ।
न्यौपानेले पार्टीका तत्कालीन महामन्त्री मुकुल ढकाललाई अनुशासन आयोगबाट स्पष्टीकरण सोधेका थिए । त्यतिबेला अनुशासन आयोगका प्रमुख भरतमणि देवकोटा अमेरिका भ्रमणमा थिए ।
रास्वपाको विधानअनुसार अनुशासन आयोग ११ सदस्यीय हुन्छ । न्यौपानले राजीनामा दिएपछि आयोग अब ४ सदस्यीय मात्रै भएको छ ।

























