कोशी प्रदेशबाट ४ दिनमा ४४ जनाको उद्धार

Share this
802shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक २, शुक्रबार १२:२०

विराटनगर । कोशी प्रदेशका विभिन्न जिल्लाबाट ४ दिनको अवधिमा ४४ जना सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार गरिएको छ ।

सडकमा कष्टकर जीवन बिताइरहेकालाई मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसनले संयुक्त रूपमा उद्धार गरिरहेको हो । आश्रम र फाउण्डेसनले ‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस सडकपेटी’मा भन्ने मूल नाराका साथ मेचीमहाकाली राष्ट्रिय उद्धार यात्रा आयोजना गरेका छन् ।

मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीका अनुसार ३२ दिने उद्धार यात्राअन्तर्गत हालसम्म ४४ जना सडकआश्रित मानवको उद्धार गरिएको हो । बिहीबार मात्रै उदयपुरका विभिन्न स्थानबाट १६ जनाको उद्धार गरिएको उनले बताए ।

उदयपुरको बेलका नगरपालिकाबाट ६ जना, चौदन्डीगढी नगरपालिकाबाट ७ जना, त्रियुगा नगरपालिकाबाट १ जना, कटारी नगरपालिकाबाट २ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामा ८ जना पुरुष र ८ जना महिला छन् ।

बेवारिसे अवस्थामा सडकमा रहेका उनीहरुलाई मावनसेवा आश्रम विराटनगरको जिम्मा लगाइएको छ । उद्धार टोली विभिन्न ठाउँमा सडक आश्रित मानवहरुको उद्धारमा सक्रिय रहेको अधिकारीले बताए ।

उद्धार अभियान गत असोज २८ गते झापाको मेचीनगर नगरपालिकाबाट सुरु भएको हो । ४ दिनको अवधिमा कोशी प्रदेशबाट ३५ पुरुष र ९ महिला गरेर ४४ जनाको उद्धार गरिसकिएको अधिकारीले बताए ।

यात्राको पहिलो दिन मेचीनगरबाट ४ जना, बिर्तामोड नगरपालिकाबाट २, कन्काई नगरपालिकाबाट २, शिवसताक्षी नगरपालिकाबाट २, दमक नगरपालिकाबाट २ गरेर झापाबाट १२ जनाको उद्धार गरिएको थियो ।

यात्राको दोस्रो दिन बेलबारी नगरपालिकाबाट २, ग्रामथान गाउँपालिकाबाट १ र विराटनगर महानगरपालिकाबाट १ गरेर मोरङबाट ४ जनाको उद्धार गरिएको थियो । तेस्रो दिन दुहबी नगरपालिकाबाट १ जना, इटहरी उपमहानगरपालिकाबाट ७ जना र धरान उपमहानगरपालिकाबाट ४ जना गरेर सुनसरीबाट १२ जनाको उद्धार गरिएको थियो ।

आश्रमका संस्थापक अध्यक्ष अधिकारीका अनुसार शुक्रबार मधेश प्रदेशका जिल्लाका सडकपेटी तथा सार्वजनिक स्थलमा कष्टकर जीवन बिताउन बाध्य भएका मानवहरुको उद्धार गर्ने कार्यक्रम छ । उद्धार यात्रामा वरिष्ठ गायिका तथा समाजसेवी आनी छोइङ डोल्मा र अधिकारीसहित ४७ जना सहभागी छन् ।

मानवसेवा आश्रमले ७ प्रदेशका १९ वटा जिल्लामा २५ वटा सेवा केन्द्र विस्तार गर्दै सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार, उपचार, संरक्षण तथा पारिवारिक पुनर्मिलन गराउँदै आएको छ । मानवसेवा आश्रम विगत १२ वर्षदेखि मानवीयता प्रबद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको गैरनाफामूलक सामाजिक संस्था हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.