
काठमाडौं । राष्ट्रिय जनमोर्चाले रवि लामिछानेमाथि कुनै राजनीतिक पूर्वाग्रहका आधारमा नभएर सत्य र तथ्यको आधारमा निष्पक्ष छानबिन गरेर कारबाही गर्न माग गरेको छ ।
आइतबार अध्यक्ष चित्रबहादुर केसीद्धारा जारी विज्ञप्तिमा सहकारीमा जम्मा भएको सर्वसाधारणको बचतमाथि ठगी अपचलनले एउटा गम्भीर राष्ट्रिय समस्याको रूप लिएको उल्लेख छ । यो समस्या सिर्जना हुनुमा स्वयं राज्य नै जिम्मेवार रहेको जनमोर्चाको ठहर छ ।
‘यो समस्यालाई समाधान गर्न राज्यले सहकारीलाई नियमन गर्न आवश्यक संयन्त्र निर्माण गर्नुका साथै ठगीमा संलग्न सबैमाथि कानुनी कारबाहीलाई अगाडि बढाउनु पर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
‘सहकारी ठगी तथा भ्रष्टाचारमा संलग्न व्यक्तिउपर कारबाही गरिनु पर्छ । सत्ता र शक्तिको आडमा त्यसप्रकारका दोषी व्यक्तिलाई संरक्षण गर्ने कुरालाई सही मान्न सकिँदैन,’ विज्ञप्तिमा भनिएको छ, ‘तर अन्य कतिपय सहकारी ठगी तथा भ्रष्टाचारका मुद्दाहरूमा कारबाही नभएको भनेर रवि लामिछानेलाई पनि कारबाही गर्न मिल्दैन वा उनीहरूलाई कारबाहीको दायरामा ल्याएपछि मात्र रविमाथिको कारबाही अगाडि बढाइनु पर्दछ, त्यसो नगरी रविमाथि मात्र कारबाही गर्नु कुरा अन्यायपूर्ण हुन्छ भन्ने तर्कलाई हामीले सही मान्न सक्दैनौँ ।’
‘बचतकर्ताहरूको बचतको सुरक्षाको कुनै ग्यारेन्टी नगरी अर्बौैं रुपैयाँ सहकारीमा जम्मा हुन्छ र त्यसरी जम्मा भएको रकममाथि सत्ता, शक्ति र प्रभावको आडमा ब्रह्मलुट मच्चाउने गरिएको छ,’ अध्यक्ष केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जनताको बचत रकममाथि ब्रह्मलुट मच्चाउनेहरूमाथि कडा कानुनी कारबाही हुनु पर्ने तथा ठगिएको रकम ठगीमा संलग्न व्यक्ति तथा निजको घर परिवारबाट असुल उपरगरी पीडितलाई उपलब्ध गराउनु पर्छ भन्ने हाम्रो स्पष्ट तथा दृढ मत छ ।’
पोखरा महानगरपालिका, केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरो, सम्बन्धित सहकारीहरूले गरेको अनुसन्धानले समेत सहकारी ठगीमा रवि लामिछानेको संलग्नता रहेको देखाएता पनि सत्ता र शक्ति तत्कालीन सत्ता गणितीय खेलका आडमा उनी सबै प्रकारका कारबाहीबाट सुरक्षित हुँदै आएको राष्ट्रिय जनमोर्चाले प्रस्ट पारेको छ ।

























