
उदयपुर । उदयपुरमा आफ्नै पति (श्रीमान)ले पेट्रोल खन्याएर शरीरमा आगो लगाएकी एक जना महिलाको मृत्यु भएको छ ।
बेलका नगरपालिका–८ की ४० वर्षीया पूर्णकुमारी राईको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पूर्णकुमारीलाई घरयासी विवादका क्रममा पति ४८ वर्षीय दानबहादुर राईले असोज २२ गते पेट्रोल खन्याएर आगो लगाएका थिए ।
कस्तो खालको खरयासी विवादमा दानबहादुरले आफ्नै पत्नी (श्रीमती)लाई आगो लगाएका हुन् भनेर प्रहरीले खुलाएको छैन । आगोले शरीरका विभिन्न भाग जलेको थियो । गम्भीर अवस्थाकी पूर्णकुमारीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो ।
उपचारकै क्रममा सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका इन्स्पेक्टर सुमन बानियाले बताए । उनका अनुसार शवलाई पोस्टमार्टम गरेर अन्त्येष्टिका लागि आफन्तको जिम्मा लगाइसकिएको छ ।
पत्नीको शरीरमा पेट्रोल खन्याएर आगो लगाउने दानबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीविरुद्ध ज्यान सम्बन्धी कसुरमा मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

























