विराटनगर । मोरङकी एक महिला तीन वर्षीय छोरीसहित बेपत्ता भएकी छन् । मोरङको सुनबर्सी नगरपालिका– ४ घर भएकी कृष्टि राजवंशी असोज २१ गतेदेखि बेपत्ता भएकी हुन् ।
श्रीमान अमितकुमार दासले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै गरी खोजी गरिदिन आग्रह गरे । बेपत्ता श्रीमतीलाई खोजी गरिरहेका उनले श्रीमतीलाई भेट्नेलाई ५० हजार रुपैयाँ पुरस्कार दिने बताए ।
उनका अनुसार असोज २१ गते माइती बेलबारी नगरपालिका– ८ बलुवाहीबाट श्रीमानको घर आउनेक्रममा बेपत्ता भएकी हुन् ।
श्रीमती हराएपछि उनले असोज २३ गते इलाका प्रहरी कार्यालय रंगेलीमा उजुरी गरेका थिए । तर प्रहरीले पनि श्रीमतीको खोजी नगरेको उनकाे गुनासो छ ।
उनका अनुसार विराटनगर आसपासमा आफन्तले देखेको खबर आएपछि खोजी गरेका थिए । तर अमितले श्रीमती र छोरीलाई भेटेनन् ।
‘१५– १६ दिन भयो सुतेको छैन, खानको टुङ्गो छैन,’ उनले भने,‘ खोजी गरिरहेको छु तर कतै भेटेको छैन ।’
श्रीमतीलाई भेटे ९७०९७३४४९०४ मा सम्पर्क गरिदिन उनले आग्रह गरे ।