वडाध्यक्षका हत्या आरोपी कारागार चलान

Share this
671shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक ६, मंगलबार २१:५६

महोत्तरी । महोत्तरीमा वडाध्यक्षका हत्या आरोपी २ जना कारागार चलान भएका छन् ।

रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेशकुमार यादवको गत भदौमा हत्या भएको थियो । उनको हत्या हारोपमा पक्राउ परेका औरही नगरपालिका–७ बस्ने सञ्जीव झा र दिलिप मण्डललाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न जिल्ला अदालत महोत्तरीले आदेश दिएको हो ।

न्यायाधीश नवराज दुलालको इजलासले तत्काल प्राप्त प्रमाणका आधारमा पछि ठहरे बमोजिम हुने गरी अभियुक्तहरुलाई कारागार चलान गर्न आदेश दिएको अदालतका सूचना अधिकारी केदारनाथ झाले बताए । आदेशलगत्तै दुवै जनालाई कारागार चलान गरिएको जानकारी उनले दिए ।

यादव नेकपा (माओवादी केन्द्र)बाट वडाध्यक्षमा विजयी भएका थिए । उनी सवार लु. प्र ०१–००१ प ६३६२ नम्बरको मोटरसाइकल गत भदौ ९ गते बिहान जलेश्वर–बर्दिबास सडकखण्डको बर्दिबास नगरपालिका–८ स्थित कल्भर्ट नजिकै दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । वडाध्यक्ष यादवको शव सडकभन्दा तल कल्भर्टसँगै फेला परेको थियो।

घटना शंकास्पद रहेको भन्दै माओवादीले अनुसन्धानको माग गरेको थियो । अनुसन्धान अघि बढाउँदा हत्यामा उनकै साथीहरु संलग्न रहेको पत्ता लागेको प्रहरीले जनाएको छ । यादवको हत्यामा संलग्न सञ्जीव र दिलिपविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दा चलाएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.