प्रकृतिक प्रकोपमा मृत्यु भएकाका परिवारले पाए आर्थिक सहयोग

Share this
660shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक ६, मंगलबार २२:३२
फाइल फाेटाे

काठमाडौं । गत असोज दोस्रो साताको बाढी, पहिरो, डुबानजस्ता प्रकृतिक प्रकोपमा परेर मृत्यु भएकाका परिवारले आर्थिक सहयोग प्राप्त गरेका छन् ।

सरकारले २ सय ३८ जना मृतकका परिवारलाई आर्थिक सहायता प्रदान गरेको हो । गृह मन्त्रालयका प्रवक्ता सहसचिव ऋषिराम तिवारीले हालसम्म प्रभावित २३ जिल्लाका मृतकका परिवारलाई राहत रकम वितरण गरिएको जानकारी दिए ।

उनका अनुसार सबै मृतकका परिवारलाई प्रतिव्यक्ति २ लाख रूपैयाँका दरले राहत वितरण गर्ने कार्य अन्तिम चरणमा छ । विपद्का कारण सबैभन्दा बढी ज्यान गुमाएका काभ्रेपलाञ्चोक जिल्लाका ७९ जनामध्ये ७८ जनाका परिवारले राहत रकम पाइसकेको तिवारीले बताए ।

मृतक १ जना बालकको परिवारले राहत पाउन बाँकी छ । केही दिनभित्रै दिने सरकारको तयारी छ । त्यसैगरी ललितपुरमा मृत्यु भएका ४६ मध्ये ४५ जनाका परिवारलाई रकम हस्तान्तरण गरिएको छ ।

तिवारीका अनुसार काठमाडौँमा १९, भक्तपुरमा ४, झापामा २, पाँचथरमा ७, धनकुटा र उदयपुरमा १–१, सोलुखुम्बुमा ५, इलाममा १, ओखलढुंङ्गामा १, महोत्तरीमा २, सप्तरीमा १, सर्लाहीमा ३ र रौतहटमा ४ जना मृतकका परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ । सिराहामा १, मकवानपुरमा ७, धादिङका ३६, सिन्धुपाल्चोक र दोलखामा ७–७, रामेछापमा १, सिन्धुलीमा ३ र रुपन्देहीमा २ जना मृतकका परिवारलाई राहत स्वरुप आर्थिक सहायता उपलब्ध गराइएको उनले बताए ।

विपद् लगत्तै प्रमुख जिल्ला अधिकारीसहितको टोली मृतकको घरमै पुगेर राहत रकम वितरण गर्दै आएको छ । असोज दोस्रो साताको विपद‍्मा परी १ सय ७७ जना घाइते भएका थिए भने १८ जना अझैसम्म बेपत्ता छन् ।

सरकारले विपद् प्रभावित जिल्लाका प्रभावित पालिकालाई तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । प्रभावित पालिकाहरुलाई ५० लाखदेखि १ करोडसम्म राहत रकम उपलब्ध गराउने सरकारको निर्णय छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.