
विराटनगर । नेपाली काँंग्रेसका नेता डाक्टर शेखर कोइरालाले पार्टी विभाजन सम्बन्धी अध्यादेश अहिले ल्याउने बेला नभएको बताएका छन् ।
प्रेस युनियन मोरङले विराटनगरस्थित कोइराला निवासमा आज आयोजित पत्रकार सम्मेलनमा उनले अध्यादेश ल्याउन आवश्यक नरहेको स्पष्ट पारे ।
झन्डै दुई तिहाइको सरकारले किन ल्याउनु पर्यो अध्यादेश भनी प्रश्न गरे । उनले पटक पटक सरकार हेरफेर हुने र पार्टी फुट्ने जुटने परिस्थितिका कारण मुलुकमा राजनीतिक अस्थिरता भएकाले स्थायित्वका लागि यो सरकार गठन भएकाले अब फेरी अध्यादेश ल्याएर राजनीतिक अस्थिरता पुनः कायम गर्न नहुने बताए ।
वर्तमान सरकार परिवर्तनको हल्ला निराधार भएको बताउँदै, उनले भने, ‘काँग्रेस र एमाले मिलेर बनेको झण्डै दुई तिहाइको सरकारबाट काँग्रेसले हात नझिकेसम्म सरकार ढल्दैन । अहिले पनि यही सरकारको निरन्तरता चाहेकाले काँग्रेसले नचाहेसम्म यो सरकार नढल्ने र अहिले कांग्रेस सरकार ढाल्ने पक्षमासमेत छैन ।’
कुनै विदेशी शक्तिले चाहँदैमा सरकार परिवर्तन नहुने र सरकार परिवर्तनका लागि संसदको संख्या आवश्यक हुने उनको भनाई थियो । वर्तमान सरकारले १ सय दिनमा टिआरसी विधेयक, सवारी लाइसेन्सका लागि नागरिक एप्स साथै उखु तथा दुग्ध किसानको भुक्तानी जस्ता राम्रा कामहरु गरेकाले आगामी दिनमा सरकारले अझ रफ्रतारका साथ काम गर्दै जानुपर्ने बताए ।
डा. कोइरालाले रास्वपाका अध्यक्ष रवि लामिछानेको सहकारी विषय सम्बन्धी कुरा अदालतमा प्रवेश गरी सकेकाले सो पार्टीले न्यायलयको निर्णयलाई स्वीकार्नु पर्ने भन्दै यसरी सडकमा नारा जुलुस गरेर अदालतलाई प्रभावित हुने खालका कुनै पनि गतिविधि गर्न नहुने बताएका थिए ।
सहकारीको विषयमा नेपाली काँग्रेसका नेता धनराज गुरुङको समेत गल्ती देखिएको छ भने उनीमाथि पनि छानबिन हुनुपर्ने भन्दै गुरुङले पनि संसदमा बोल्दै आफुमाथि छानबिन गर्न समेत भन्नु भएको थियो, डा. कोइरालाले भने ।

























