वडाध्यक्ष अमेरिका गए, स्थानीयले ताला लगाए

Share this
700shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक ८, बिहीबार १३:५३

खोटाङ । वडाध्यक्ष अमेरिका गएपछि स्थानीयले खोटाङको साकेला गाउँपालिका–४ को वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।

वडाध्यक्ष अर्जुनकुमार कटवाल अमेरिका गएको ९ महिनासम्म नफर्किएपछि आक्रोसित बनेका स्थानीय वडामा ताला लगाएका हुन् । वडाध्यक्ष कटवाल नफर्केपछि पूर्ववडाध्यक्ष कृष्णप्रसाद भट्टराईको संयोजकत्वमा गठित सर्वपक्षीय समितिले तत्काल समस्या समाधान गर्न माग गर्दै तालाबन्दी गरेको हो ।

गत साउन २१ गते पूर्ववडाध्यक्ष भट्टराईको संयोजकत्वमा गठन भएको समितिले वडाध्यक्ष कटवाललाई १५ दिनभित्र उपस्थित हुन अल्टिमेटम दिएको थियो । तर, उनी अमेरिकाबाट फर्किएनन् ।

जनताले जिताएका प्रतिनिधि अमेरिकामै अल्झिएपछि बाध्य भएर तालाबन्दी गरिएको पूर्ववडाध्यक्ष भट्टराईले बताए । यस सम्बन्धमा जिल्ला निर्वाचन आयोगको कार्यालय, गाउँ कार्यपालिका र जिल्ला समन्वय समितिलाई जानकारी गराइसकिएको उनको भनाइ छ ।

वडाध्यक्ष कटवाल नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित भएका थिए । स्थानीयको तालाबन्दीका कारण वडाको कामकारबाही गर्न समस्या भएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.