
सोलुखुम्बु । सगरमाथा राष्ट्रिय निकुञ्जले पर्यटकीय क्षेत्र स्याङबोचेमाथि हेलिकप्टर उडानमा प्रतिबन्ध लगाएको छ ।
निकुञ्जको ‘कोर एरिया’मा हेलिकप्टर उडाउँदा वन्यजन्तुमा नकारात्मक असर गर्ने तथा ध्वनि प्रदूषणसमेत हुने भएकाले स्याङबोचेभन्दा माथिको हिमाली क्षेत्रमा व्यावसायिक उडानमा रोक लगाएको निकुञ्जले जनाएको छ ।
निकुञ्ज, नेपाली सेनाको भगवतीप्रसाद गुल्म र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको संयुक्त बैठक बसेर नै स्याङबोचे क्षेत्रभन्दा माथि व्यावसायिक उडान नगर्नका लागि नागरिक उड्डयन कार्यालय लुक्लालाई बिहीबार पत्राचार गरिएको छ ।
निकुञ्जले ‘कोर’ क्षेत्रमा दैनिक ५० भन्दा बढी हेलिकप्टर उडान तथा अवतरण हुँदा वन्यजन्तु तर्सिएर जंगलबाट गाउँ पस्ने गरेको जनाएको छ ।
























