पाँचथरको संकट बारे माओवादीले गरायो कोशी सरकारको ध्यानाकर्षण

Share this
694shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक ९, शुक्रबार १९:३५

विराटनगर । असोज दोस्रो साताको अविरल वर्षाका कारण पाँचथरमा सयौं घर क्षतिग्रस्त बनेको, करोडौंको भौतिक संरचना नष्ट भएको, खानेपानी, सिँचाइ तथा विद्युत आयोजनाहरु भत्किएको भन्दै पुनः निर्माणका लागि नेकपा (माओवादी केन्द्र)ले कोशी प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।

माओवादीका कोशी प्रदेशका इन्चार्ज हरिबोल गजुरेल (सितलकुमार), सहइन्चार्ज सावित्रीकुमार काफ्ले, अध्यक्ष हर्कबहादुर नेम्वाङ, राष्ट्रियसभाका प्रमुख सचेतक गोपिबहादुर अछामी र कार्यालय सचिव टंक गिरीसहितको टोलीले शुक्रबार प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको ध्यानाकर्षण गराएका हुन् ।

गृह मन्त्रालयले घोषणा गरेको देशको संकटग्रस्त स्थानीय तहहरुमध्ये पाँचथरको फिदिम नगरपालिका, फालेलुङ गाउँपालिका र फाल्गुनन्द गाउँपालिका पनि परेको छ । पाँचथरमा विपदमा परी नौ जनाको मृत्यु भएको थियो भने चार जना हालसम्म बेपत्ता छन् ।

‘बाढीले सयौंको संख्यामा घरबारविहीन र अर्बौंको खेतीबाली तथा धनसम्पत्ति नष्ट भएको छ । सयौंको संख्यामा शिक्षा, स्वास्थ्य र संघसंस्थाहरुको भौतिक संरचना जोखिममा परेका छन् । अर्बौं मूल्यको आधा दर्जन पक्की पुल तथा बेलिब्रिजलगायत सडक बाढीले बगाएको छ,’ इन्चार्ज गजुरेलले भने, ‘यसर्थ बाढी पहिरोले पीडित, जनधन गुमाएका, बेपत्ता तथा घरबारविहीन पीडित पाँचथरवासी जनसमुदायहरुको यथाशीघ्र खोज, उद्धार, राहत तथा क्षतिपूर्ति सहित पुनः स्थापना गर्न तथा बाढी पहिरोबाट क्षतिग्रस्त भौतिक पूर्वाधार यथाशिघ्र पुनः निर्माण गर्न माग गर्दछौं ।’

माओवादी टोलीले मृतक परिवारहरुलाई क्षतिपूर्ति दिनुपर्ने, बेपत्ता व्यक्तिहरुको तत्काल खोज तथा राहतमा ध्यान दिनुपर्ने, घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने माग गरेको छ । जिल्लामा एक सय २० घर परिवार पूर्ण रुपमा घरबारविहीन भएका छन् भने सयौं घर परिवार उच्च जोखिमा छन् । उनीहरुको पुनर्वास र सुरक्षित आवासको लागि भूगर्भविदहरुको भौगोलिक अध्ययन गराएर बस्ती स्थानान्तरण र पुनःस्थापना गरी एकीकृत वस्ती विकास कार्यक्रम लागू गर्न पनि मुख्यमन्त्री कार्कीलाई माओवादी टोलीले आग्रह गरेको छ ।

पाँचथरमा मेची राजमार्गको हेवाखोला पक्की पुल, फिदिम फालोट सडक खण्ड फेमेखोला पक्की पुल, सिवालय लुङरुपा गोरुवाले सडकको फेमेखोला त्रिबेनी पक्की पुल, मध्यपहाडी लोकमार्गअन्तर्गत ओयाम ठाडो खोलामा पक्की पुप, मध्यपहाडी लोकमार्गअन्तर्गत ओयाम फलैँचा फलाम खोला पक्की पुल, फिदिम फालोट सडक–मुवाखोला लुदिनटार पक्की पुल र दर्जनौ संख्यामा झोलुंगे पुलहरु मर्मत तथा पुनःनिर्माण गरिनुपर्ने, सयौं क्षतिग्रस्त शिक्षा स्वास्थ्य संस्थाहरुको भवन मर्मत तथा पुनःनिर्माण गरिनु पर्नेमा मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

यस्तै, फालेलुङ गाउँपालिका –२ देखि ८ को दर्जनौ सिँचाइ कुलोहरु, फिदिम– २ देखि १४ नम्बर वडाका कुलो, फाल्गुनन्द गाउँपालिकाको ७ वटै वडाका दर्जनौं कुलोहरु भत्किएको भन्दै माओवादीले सम्पूर्ण सिँचाइ कुलोहरु तत्काल सञ्चालन गर्नका लागि वैकल्पिक व्यवस्थापन, मर्मत सम्भार र पाइपको व्यवस्था गर्नुपर्ने पनि माग गरेको छ ।

यस्तै, जिल्लामा बाढीपीडित गाउँ बस्तीमा विद्युत् प्राधिकरणका संरचना ध्वस्त भएकोले तत्काल केन्द्रीय प्रसारण लाइनलाई मर्मत तथा निर्माण गरी विद्युत् सेवा सञ्चालन गरिनुपर्ने पनि उनीहरुको माग छ । फालेलुङ–५ को मुवाखोला लघु जलविद्युत आयोजना, ६ को रिगेवा लघु जलविद्युत आयोजना, मुवाखोला लुकुन्डे लघु जलविद्युत आयोजनाको पुनः निर्माण गर्नुपर्ने देखिएको गजुरेलले बाताए ।

यस्तै, फिदिम बृहत खानेपानी योजना तत्काल मर्मत गराउनु पर्ने, बाढी पहिरोका कारण फिदिम, फालेलुङ र फाल्गुनन्द गाउँपालिकाहरमा अर्बौंको खाद्यान्न तथा नगदेवाली (अलैँची, अदुवा, अम्लीसो, धान, कोदो) बालीका साथै सयौंको संख्यामा पशु चौपाय क्षति भएको माओवादी पाँचथरका इन्चार्ज सीता थेबेले जानकारी दिइन् । क्षतिको मूल्यांकन गरी क्षतिपूर्तिसहित विषेश किसान राहत कार्यक्रम लागू गर्न उनले माग गरिन् ।

माओवादीले २०८० असार २ गते बगाएका पक्की पुलहरु पनि हालसम्म पुनः निर्माण नभएको भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । जसमा हेवाखोला घुमाउनेटार पक्की पुल, हेंवाखोला सासुटार पक्की पुल, हिलिहाङ–७ को बेलिब्रिज र हेंवाखोला तमोर कोरिडोरको बेलिब्रिज पुनःनिर्माण गर्नुपर्ने माओवादी पाँचथरका संयोजक विशाल रसाइले जानकारी दिए ।

माओवादीले मुख्यमन्त्री कार्कीका साथै भौतिक पूर्वाधार विकासमन्त्री भुपेन्द्र राई, आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरलगायतसँग संयुक्त छलफल गरेको हो । छलफल सकारात्मक भएको र पुनःनिर्माणमा ध्यान दिने प्रतिबद्धता जाहेर भएको माओवादी नेता अछामीले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.