
विराटनगर । विराटनगरमा ३ दिनदेखि आफ्नै बाबुले घरभित्र बन्धक बनाएर राखिएकी एक नाबालिकाको शुक्रबार राति सकुशल उद्धार गरिएको छ ।
विराटनगर महानगरपालिका–९ भानु टोलका ३२ वर्षीय सुनील सहनीले गत मंगलबारदेखि ४ वर्षीया छोरीलाई आफ्नै घरभित्र बन्धक बनाएर राखेको प्रहरीले जनाएको छ । बाबुले केही पनि खान नदिइ र घरबाट बाहिरसमेत निस्किन नदिइकन नाबालिका छोरीलाई बन्धक बनाएर राखेको जानकारी स्थानीयले प्रहरीलाई दिएका थिए ।
प्रहरीले शुक्रबार दिउँसैदेखि पटकपटक उद्धारको प्रयास गरेको थियो । तर, छोरीलाई लिएर घरको कोठाभित्र बसेका सुनीलले कसैलाई पनि प्रवेश गर्न नदिँदा उद्धारमा समस्या भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले बताए ।
‘घरको कोठाभित्र छोरीलाई लिएर बसेका थिए । हातमा चक्कु पनि थियो । कोही आएमा छोरीलाई मारिदिने र आफू पनि चक्कुले घाँटी रेटेर मर्छु भनेर भन्थे,’ जोशी भन्छन्, ‘स्थानीय र जनप्रतिनिधिसहितको सहयोगमा केहीबेर अघि छोरीलाई सकुशल उद्धार गर्न सफल भइयो । नाबालिकाको उद्धार गरिएपछि सम्भावित जोखिम टरेको छ । अब बाबुलाई पनि बाहिर निकाल्ने प्रयास गरिरहेका छौं ।’
सुनीलले कोठाको ढोका खोल्न नमानेपछि प्रहरीले फोड्ने तयारी गरेको थियो । तर, कुनै अप्रिय घटना हुनसक्ने देखेर सावधानी अपनाउँदै फकाएर नाबालिकालाई बाबुको कब्जाबाट बाहिर निकाल्न सफल भएको जोशीले बताए । उनका अनुसार नाबालिकालाई हजुरआमाको जिम्मा लगाएर पठाइएको छ ।
प्रहरीका अनुसार लामो समयसम्म फकाएपछि नाबालिका छोरीलाई सुनीलले ढोकामाथिको खाली ठाउँबाट बाहिर दिएका थिए । बाहिर ननिस्किने अडान राखेका उनी भने घरको कोठाभित्रै रहेको डीएसपी जोशीको भनाइ छ । अब सुनीललाई कसरी घरबाट बाहिर निकाल्नेभन्ने तर्फ प्रहरी केन्द्रित भएको उनले बताए ।
सादा पोसाकका प्रहरी र स्थानीयले सुनीलको घर वरपर निगरानी गरिरहेका छन् । नाबालिका छोरीलाई घरभित्रै बन्धक बनाएर राख्नुको कारण थाहा नभएको र यस विषयमा थप अनुसन्धान भइरहेको जानकारी जोशीले दिए । घरभित्र बन्धक बनाएर राखे पनि छोरीलाई भने केही नगरेको उनले बताए ।
सुनीलकी पत्नी (श्रीमती) भने केही समयदेखि वैदेशिक रोजगारीमा रहेको प्रहरीले जनाएको छ । ‘घरमा नाबालिका छोरीलाई लिएर सुनील बस्थे । तर, ३ दिनदेखि चैं नानीलाई बाहिरसमेत निस्कन नदिइकन घरभित्रै थुनेर राखेको पाइयो । कसैले अवरोध गरेमा छोरीलाई पनि मारिदिने र आफू पनि मर्ने भनेर त्रास देखाउन थालेपछि आत्तिएर स्थानीयले घटनाको जानकारी दिएका रहेछन्,’ डीएसपी जोशीले भने ।























