विराटनगर । विराटनगर महानगरपालिका–१ शान्ति चोकमा डेरा गरेर बस्ने नेपाल प्रहरीका जवान शनिबार राति झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार संखुवासभाको मादी नगरपालिका–१ घर भइ जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत ३१ वर्षीय योगेन्द्रकुमार कार्की राति ८ः१० बजेतिर झुन्डिएको भेटिएका हुन् । डेरा बसेको घरको कोठामा भित्रबाट ढोका ‘लक’ गरी पंखाको हुकमा नाइलनको डोरीको पासो लगाइ झुन्डिएको शव भेटिएको जोशीले बताए ।
कार्कीकी पत्नी (श्रीमती) इन्दु थापासमेत जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत जवान हुन् । ड्युटी सकेर कार्यालयबाट कोठा पुग्दा भित्र बच्चा रोइरहेको र ढोका बन्द रहेको देखेर इन्दुले नै घटनाको जानकारी दिएको मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले बताए ।
उनका अनुसार तत्काल घटनास्थल पुगी ढोका फुटाएर हेरिएको थियो । घटनास्थल सुरक्षित राखिएको र परिवारका सदस्य एवं आफन्त आइपुगेपछि कानुनी प्रक्रिया सुरु गरिने जानकारी चिमरियाले दिए । उनी आफैं घटनास्थल पुगेका थिए ।
घटनास्थल जिल्ला प्रहरी कार्यालयबाट करिब २ सय मिटर उत्तरमा पर्छ । घटनाको कारण खुल्न नसकेको र अनुसन्धानपछि यकिन हुने प्रहरीले जनाएको छ ।