
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकासमा एकजुट हुन आह्वान गरेका छन् ।
विकासका लागि पूर्वाधार तयार भइसकेकाले एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव हुने उनको भनाइ छ । गैह्रआवासीय नेपाल संघ (एआरएन)द्वारा आइतबार आयोजत गैह्रआवासीय नेपाली दिवस र वार्षिक साधारणभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रविधि र उपकरण बढ्दो भएकाले विकास गर्न नसकिने भन्ने नहुने बताएका हुन् ।
‘नेपालमा विकासका लागि बाटाघाटा र आवश्यक पूर्वाधार बनेका छन् । अहिले दुर्गम भन्ने कुनै जिल्ला र भू–भाग छैन । मिलेर काम गरेमा मुलुकलाई समृद्ध बनाउन सकिन्छ,’ प्रधानमन्त्रीले भने ।
ओलीले गैह्रआवासीय नेपाली संघको छविलाई कायम गरी संगठनलाई एकताबद्ध राख्न र ‘राजनीतिक टग अफ वार’ नगर्न आग्रह गरेका छन् । सरकारको तर्फबाट संघलाई कुनै हस्तक्षेप नहुने भएकाले स्वतन्त्ररुपमा काम गर्न उनले आग्रह गरेका छन् ।
उनले आआफ्नो जिम्मेवारी र हैसियतामा बसेर काम गर्नुपर्ने धारणा राखे । आफू सन् १९९९ तिर मस्को जाँदा डा. उपेन्द्र लामिछानेसँग गैह्रआवासीय नेपाली अभियानबारे कुरा भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले एनआरएनलाई पहिचान र आवश्यक सुविधान दिन सरकारले कन्जुस्याइँ नगर्ने स्पष्ट पारेका छन् ।

























