
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुक चीन भ्रमणको तयारी थालेका छन् ।
स्रोतका अनुसार कात्तिक अन्तिम वा मंसिर पहिलो साता चीन भ्रमणमा जाने प्रधानमन्त्रीको योजना छ । बेइजिङ भ्रमणको तयारी स्वरुप ओलीले परराष्ट्र मन्त्रालय र विकास योजनासँग सम्बन्धित मन्त्री तथा सचिव डाकेर चीनसँगका सम्झौताको प्रगति विवरण तयार पार्न निर्देशन दिएका छन् ।
बेइजिङ भ्रमणको तयारीका क्रममा प्रधानमन्त्री ओलीले बीआरआईलगायत अन्य चिनियाँ सम्झौताको प्रगतिबारे चासो राखेका छन् । प्रधानमन्त्रीले भारत भ्रमणको तयारी भने गरेका छैनन् ।
चीनसँग भएका दुईपक्षीय सम्झौतालगायत आवश्यक विकास योजनाको प्रगति विवरण प्रधानमन्त्रीले मागेका कारण उनले भारतभन्दा पहिले चीनको भ्रमण गर्न लागेको बुझ्न सकिन्छ ।

























