उर्लाबारीका मेयरमाथि मुक्का प्रहार

Share this
704shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक १२, सोमबार २१:२९

विराटनगर । मोरङको उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेलमाथि सोमबार अपरान्ह मुक्का प्रहार भएको छ ।

नगरपालिकाको कार्यपालिका बैठक सकेर निस्किँदै गर्दा नगरपालिका परिसरमै उनीमाथि एक्कासि आक्रमण भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उर्लाबारी नगरपालिका–७ का ४८ वर्षीय मिलन भण्डारीले अपरान्ह ४ः४५ बजेतिर नगर प्रमुख खरेलको अनुहारमा मुक्का प्रहार गरेका हुन् ।

मुक्का प्रहार भए पनि उनको अवस्था सामान्य छ । भण्डारीलाई भने पक्राउ गरेर इलाका प्रहरी कार्यालय उर्लाबारीको हिरासतमा राखिएको छ । उनले मेयरमाथि आक्रमण गर्नुपर्ने कारण खुल्न बाँकी रहेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले भण्डारीविरुद्ध अभद्र व्यवहार मुद्दा चलाउने तयारी गरेको छ । मुक्का प्रहार गर्नुअघि मेयर खरेलसँग भण्डारीको भेट भएको थियो । उनले योग शिविर सञ्चालनका लागि भनेर मेयरसँग पैसा माग गरेका थिए ।

मेयर खरेलले तत्काल सम्भव नहुने भन्दै प्रक्रिया पूरा गरेर सहयोग गर्ने आश्वासन दिएको उनको सचिवालयले जनाएको छ । मेयरसँग भेट गरेर निस्किएका भण्डारी नगरपालिका परिसरमै थिए । कार्यपालिका बैठक सकेर निस्किनासाथ अनुहारमा मुक्का प्रहार गरेको मेयरको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार मेयरले तत्काल पैसा दिन्छन् भन्ने सोच राखेर भण्डारी आएको र भनेअनुसार नभएपछि आक्रोसित भएर आक्रमण गरेको हुनसक्छ । उर्लाबारी–७ का पुराना व्यवसायी भण्डारीले पछिल्लो समय थेरापी सेवा सञ्चालन गर्दै आएका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.