प्रधानमन्त्रीको चीन भ्रमण मंसिर १७ गते

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कार्तिक १३, मंगलवार १५:१९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा जाने मिति तय भएको छ ।

चिनियाँ राष्ट्रपति सी जिङपिङको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली मंसिर १७ गते चीनको राजधानी बेइजिङ जाने तय भएको स्रोतले बतायो । उच्च स्रोतका अनुसार उनले मंसिर १७ देखि २० गतेसम्म चीन भ्रमण गर्ने छन् ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको न्युयोर्क गएका बेला भेटघाटका क्रममा प्रधानमन्त्री ओलीलाई चिनियाँ विदेश मन्त्री वाङ यीले डिसेम्बर पहिलो साता चीन भ्रमण हुने र सो समयमा अन्य कार्यक्रम नपार्न आग्रह गरेका थिए । नेपाल फर्किएपछि प्रधानमन्त्री ओलीले चीन भ्रमणको तयारी थालेका थिए ।

बेइजिङस्थित चिनियाँ विदेश मन्त्रालयले नेपालस्थित चिनियाँ दूतावासलाई प्रधानमन्त्री ओलीको भ्रमणबारे औपचारिक पत्र पठाएको थियो। दसैं अगावै नेपालका लागि चिनियाँ राजदूत छन सोङले प्रधानमन्त्री ओलीलाई चीन भ्रमणबारे राष्ट्रपति सीले पठाएको निमन्त्रणा पत्र दिएको बताइन्छ ।

गत असार ३० गते प्रधानमन्त्री नियुक्त भएका ओलीले भारत भ्रमण गर्ने चर्चा चले पनि अहिलेसम्म औपचारिक निर्णय भएको छैन । भारतभन्दा पहिले चीनको भ्रमण गर्न लागेका हुन् ।

clockप्रकाशित मिति:  २०८१ कार्तिक १३, मंगलवार १५:१९
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.