
विराटनगर । सहकारी ठगीमा पूर्वगृहमन्त्री एवं पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आन्दोलित छ ।
लामिछाने पक्राउ परेको विरोधमा मोरङमा पनि रास्वपाले मंगलबार दिउँसो प्रदर्शन गरेको छ । मोरङको कानेपोखरी र मिक्लाजुङमा रास्वपाले प्रदर्शन गरेको हो । कानेपोखरीमा मोटरसाइकल, पिकअपलगायतका सवारीसाधनको प्रयोग गरेर प्रदर्शन गरिएको थियो ।
कानेपोखरी गाउँपालिका– ७ बाट पार्टीका कानेपोखरी गाउँपालिका सभापति सुनीलदत्त अधिकारीको नेतृत्वमा करिब ७५ वटा मोटरसाइकल र २ वटा पिकअप गाडीमा शान्तिपूर्ण र्याली गरिएको हो । र्यालीमा करिब २ सय जनाको सहभागिता रहेको जनाइएको छ ।
रमाइलो र कानेपोखरी बजार हुँदै सुन्दरहरैँचा नगरपालिका–४ दुलारीसम्म उक्त र्यालीको आयोजना गरिएको अधिकारीले बताए । उनका अनुसार र्याली दुलारी चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
त्यस्तै, मिक्लाजुङ गाउँपालिका–९ स्थित मधुमल्ला बजारमा पनि रास्वपाले प्रदर्शन गरेको छ । पार्टीका मिक्लाजुङ सभापति नन्दकुमार तामाङको नेतृत्वमा सुरु भएको प्रदर्शनमा करिब १ सय जनाको सहभागिता थियो ।
मधुमल्लाबाट सुरु भएको प्रदर्शन बेलगौडे, भट्टपुच्छर हुँदै पुनः मधुमल्ला बजारमा आएर कोणसभामा परिणत भएको थियो । प्रदर्शनका सहभागीहरुले सहकारी ठगीमा पक्राउ परेका लामिछानेलाई तत्काल छाड्नुपर्ने माग गरेका थिए । उनीहरुले सहकारी ठगीमा संलग्न अन्यलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।

























