
विराटनगर । दीपावली गरेर धुमधामसाथ मनाइने हिन्दु धर्मावलम्बीहरुको महान एवं रमाइलो पर्व तिहार सुरु भएको छ ।
यमपञ्चक भनिने तिहारमा काग, कुकुर, गाई, लक्ष्मी, गोरु र दाजुभाइको पूजा गरिन्छ । तिहारमा देउसी भैलो खेलेर रमाइलो गर्ने परम्परा छ । सबैतिर बत्तीले झिलिमिली बनाउने, पिङ खेल्ने, दीपावली गर्ने र देउसी भैलो खेल्दै सेलरोटी आदि मिष्ठान्न खानेकुरा खाएर मनाइने भएकाले तिहारलाई रमाइलो पर्व मानिन्छ ।
तर, देउसी भैलोको नाममा अनेक विकृतिहरु देखापर्ने गरेका छन् । रमाइलो गरेर मनाउनेभन्दा पनि विकृतिजन्य हिसाबले पर्वलाई दूषित बनाउने अवाञ्छित गतिविधिसमेत हुने गरेको छ । चोरी, लुटपाट, डकैती गर्ने समूहले चाडपर्वको मौका छोपिरहेको पाइन्छ ।
देउसी भैलोको नाममा हुने विकृति र विसंगतिप्रति भने प्रहरीले सबैलाई सचेत गराएको छ । सम्भावित अपराध हुन नदिन ध्यान पुर्याउनुपर्ने जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले देउसी भैलोलाई मनोरञ्जनपूर्ण बनाउन सबैमा आह्वान गरेको हो ।
‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाएर लागू गरिएको छ । तिहारमा जुवा, तास, डाइसलगायत कानुनद्वारा बर्जित खेलहरु बढी खेल्छन् । जुवाजन्य खेल नियन्त्रणमा लिइरहेका छौं,’ कोशी प्रदेशका प्रहरी प्रमुख डीआईज चन्द्रकुवेर खापुङले भने ।
उनले सौहार्दपूर्ण हिसाबले चाडपर्व मनाउन सबैमा आह्वान गरेका छन् । ‘तिहारमा रमाइलो गर्ने हाम्रो संस्कार हो । देउसी भैलो खेल्ने गरिन्छ,’ उनी भन्छन्, ‘रमाइलो हिसाबले तिहार मनाउनुपर्छ । कुनै पनि अपराधिक गतिविधि हुन दिन हुँदैन ।’
देउसी भैलोका लागि कुनै समयसीमा नराखिएको डीआईजी खापुङ बताउँछन् । ‘रमाइलो हिसाबले रातभर खेल्दा पनि हुन्छ । प्रहरीले सकेसम्म शान्ति सुरक्षा प्रदान गर्छ,’ उनले भने, ‘कतै स्थानीय समस्याका कारण प्रशासनले समयसीमा दिएको हुन्छ । त्यसलाई चैं पालना गरौं ।’
खापुङले तिहारलाई मनोरञ्जनपूर्ण बनाउन र सम्भावित अपराधिक घटना रोक्न प्रहरी सक्रियता बढाइएको जानकारी दिए । ‘नियमितभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । सुरक्षा व्यवस्था मजवुत बनाएका छौं,’ उनले भने, ‘गस्ती र पेट्रोलिङ बढाइएको छ । ढुक्क भएर तिहार मनाउन सबैमा अनुरोध गर्छौं ।’
डीआईजी खापुङ मौलिक परम्परा र संस्कार जोगाउने पर्वका हिसाबले तिहारलाई उल्लासमय बनाउनुपर्ने बताउँछन् । उनले पटका पड्काउने, जुवा तास, डाइस (लंगुर, बुर्जा) खेल्नेलगायतका कानुनविपरीतका गतिविधि गर्नेहरुको सूचना प्रहरीलाई गोप्य रूपमा उपलब्ध गराउन आग्रह गरेका छन् ।
कानुनविपरीतका गतिविधिको गोप्य सूचना दिँदा नियन्त्रणमा लिन सजिलो हुने र निर्धक्क भएर चाडपर्व मनाउने वातावरण बन्ने डीआईजी खापुङ बताउँछन् । लागुऔषध नियन्त्रणका लागि नेपाल–भारत सीमा क्षेत्रमा निगरानी बढाइएको उनको भनाइ छ । साथै, सार्वजनिक सवारीसाधनदेखि सार्वजनिकस्थल र अपराध हुनसक्ने सम्भावित ठाउँहरुमा आकस्मिक चेकजाँचको व्यवस्थासमेत मिलाइएको खापुङले बताए ।
‘पटकाको आवाजले ध्वानि प्रदूषण बढाउँछ । दीर्घरोगीहरुलाई असर गर्छ,’ उनले भने, ‘आतसबाजी कानुनविपरीत हो । सबैतिर निगरानी बढाएर कडाइ गरिएको छ ।’ पटकाले त्रासदीपूर्ण परिस्थिति निम्त्याउनुका साथै आगलागीको जोखिमसमेत हुने उनले बताए ।
घरघरमा दीपावली गर्दा आगलागीको जोखिम हुनसक्ने भन्दै सतर्कता अपनाउन प्रहरीले सबैमा अनुरोध गरेको छ । ‘आफैं सुरक्षा सतर्कता अपनाउनुपर्छ । जोखिम कम गरौं, चाडपर्वलाई मर्यादित, मनोरञ्जनपूर्ण र भव्य बनाऔं,’ खापुङले भने ।
मोरङमा देउसी भैलोको अनुमति लिनुपर्ने
मोरङमा भने स्थानीय प्रशासनको अनुमति लिएर मात्रै संस्थागत देउसी भैलो खेल्न पाइने भएको छ । रातको समयमा देउसी भैलो खेल्नेले प्रशासनको अनुमति लिनुपर्ने भएको हो ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले अनुमति बिना राति १० बजेपछि देउसी भैलो खेल्न नपाइने बताए । ‘संस्थागत रुपमा खेलिने देउसी र भैलोका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्छ,’ उनले भने, ‘अनुमति बिना खेल्न पाइने छैन ।’
संस्थागत र समूहगत देउसी भैलो खेल्न अनुमति लिनैपर्ने तथा अनुकूल अवस्था हेरेर प्रशासनले निर्णय गर्ने भट्टराईको भनाइ छ । जिल्ला सुरक्षा समितिको बैठक बसेर नै यो विषयमा निर्णय गरिने उनले बताए ।
उनका अनुसार बजार, पसल तथा भिडभाड बढी हुने स्थानको सुरक्षा व्यवस्था कडा पारिएको छ । ‘सादा पोसाकदेखि हतियार र पोसाकसहित नेपाल एवं सशस्त्र प्रहरी परिचालन गरिएको छ,’ भट्टराईले भने, ‘गस्ती र पेट्रोलिङ बढाइएको छ ।’
ठाउँ विशेष र परिस्थिति अनुसार नेपाल एवं सशस्त्र प्रहरीले निगरानी बढाइरहेको प्रजिअ भट्टराई बताउँछन् । ‘नागरिकको सुरक्षा र सहयोगका लागि प्रशासन सधैं तयार छ,’ उनी भन्छन्, ‘तिहारमा देउसी भैलो खेल्ने नाममा चोरी, लुटपाट एवं डकैतीका घटनासमेत हुनसक्नेतर्फ सबै सचेत हुनुपर्छ ।’
आगलागीको सम्भावित जोखिमलाई ध्यानमा राखेर वारुणयन्त्र (दमकल) तथा सुरक्षाकर्मीसहितका जनशक्तिलाई २४ घण्टा नै तयारी अवस्थामा राखिएको उनले बताए । ‘सम्भावित क्षति रोक्न ‘पुलिस फोर्स’ पनि ‘अपडेट’ भएर बसेको हुन्छ । सुरक्षा दस्ता तयारी अवस्थामा रहन्छ,’ उनले भने, ‘कुनै उश्रृङ्खल गतिविधि भएमा तत्काल नियन्त्रणमा लिने रणनीति छ । कानुनले निषेध गरेका गतिविधि गर्न हुँदैन ।’
सुरक्षा व्यवस्था मजबुत
महत्वपूर्ण चाडपर्वलाई लक्षित गरेर कोशी प्रदेशको सुरक्षा व्यवस्था मजबुत पारिएको छ । १४ वटै जिल्लामा सुरक्षा सतर्कता बढाइएको हो । प्रदेश राजधानी विराटनगरसहित इटहरी, धरान, इनरुवा, दमक, बिर्तामोड, भद्रपुर, काँकडभिट्टालगायतका दर्जनौं ठाउँ मानवीय चहलपहल, भिडभाड तथा आर्थिक गतिविधि धेरै हुने स्थानभित्र पर्छन् ।
ठाउँठाउँमा ठूलो संख्यामा हतियारसहितका तथा सादा पोसाकका नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ । चाडपर्वलाई मर्यादित, व्यवस्थित, सुरक्षित र हर्षोल्लासपूर्ण बनाउनेतर्फ सुरक्षा निकायको ध्यान केन्द्रित रहेको डीआईजी खापुङले बताए ।
उनका अनुसार धेरै भिडभाड हुने ठाउँ, व्यापारिक प्रतिष्ठान, उद्योग कलकारखाना, मठमन्दिर, धार्मिकस्थल, वित्तीय संस्था, सुनचाँदी पसल, एटीएम बुथ, पसलहरु, बैंक तथा वित्तिय संस्था एवं आर्थिक गतिविधी बढी हुने ठाउँ र सरकारी तथा गैरसरकारी कार्यालयको २४ घण्टा नै निगरानी भइरहेको छ । अपराधिक पृष्ठभूमिका र शंकास्पद व्यक्तिहरुमाथि प्रहरीले ‘वाच’ गरिरहेको छ ।
सार्वजनिक सवारीसाधनमा यात्रुको सुरक्षा र सहजतामा ध्यान दिनेदेखि उश्रृङ्खल गतिविधि गर्ने, मादक पदार्थ सेवन (मापसे) गरेर सवारीसाधन चलाउने लगायतमाथि कडाइ गरिएको खापुङ बताउँछन् । सम्भावित अपराध हुने स्थानमा प्रहरी उपस्थित बाक्लो बनाइएको छ ।
चाडपर्वलाई केन्द्रित गरेर प्रहरीसँग भएका सम्पूर्ण जनशक्ति तथा स्रोत साधनको परिचालन गरिएको डीआईजी खापुङले बताए । ‘विकृतिजन्यदेखि अपराधिक घटना नियन्त्रणका लागि प्रहरीको अलगअलग समूह बनाएर परिचालन गरिएको छ । राजमार्गको सुरक्षा व्यवस्था विशेष हिसाबले मिलाइएको छ,’ उनले भने ।
चाडपर्वलाई अपराधरहित बनाउन आमनागरिकले समेत सुरक्षा निकायलाई सहयोग गर्नुपर्ने उनले बताए । चोरी, लुटपाटदेखि चन्दा आंतक, ठगीजस्ता क्रियाकलाप र मादक पदार्थ सेवन (मापसे)बाट हुने झैझगडा एवं अपराध नियन्त्रण, कालो बजारी, इन्धन तथा दैनिक उपभोग्य वस्तुको कृतिम अभाव नियन्त्रण, यातायातको सहज उपलब्धता, ट्राफिक व्यवस्थापन, तस्करी, हातहतियार तथा लागुऔषध र मदिराको अवैध ओसारपसार नियन्त्रणमा प्रहरी सक्रियत भएर लागेको डीआईजी खापुङ बताउँछन् ।



















