काडमाडौं । बालुवाटारबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सबै जना मंगलबार साँझ रिहा भएका छन् ।
पूर्वगृहमन्त्री एवं पार्टी सभापति रवि लामिछानेको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका रास्वपा सांसद आशोक चौधरीसहित ५१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएका सबै जनालाई छाड्ने निर्णय भएको काठमाडौं प्रहरीका प्रवक्ता एसपी नवराज अधिकारीले बताए ।
लामिछाने पक्राउको विरोधमा रास्वपाले मंगलबार बालुवाटार केन्द्रित प्रदर्शन गरेको थियो । प्रदर्शनका क्रममा रास्वपाका नेता कार्यकर्ताले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।
सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि लामिछानेलाई प्रहरीले कात्तिक २ गते पक्राउ गरेको थियो । उनीमाथि सहकारी ठगीदेखि संगठित अपराधसम्मको मुद्दामा प्रहरीले अनुसन्धान गरिररहेको छ । लामिछाने पक्राउ परेपछि रिहाइको माग गर्दै रास्वपा आन्दोलित छ ।