
विराटनगर । यस वर्षको जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार विराटनगरका सक्रिय युवा पत्रकार बाबुराम भण्डारीलाई प्रदान गरिएको छ ।
प्रेस चौतारी मोरङले हरेक वर्ष प्रदान गर्दै आएको पुरस्कारको राशि १५ हजार ५ सय रूपैयाँ छ । प्रेस चौतारी मोरङले बुधबार विराटनगरमा आयोजना गरेको चाडपर्व लक्षित शुभकामना अदानप्रदान एवं पत्रकारिता पुरस्कार समर्पण समारोहमा भण्डारीलाई नेकपा (एमाले)का उपाध्यक्ष गुरु बरालले पुरस्कार प्रदान गरेका हुन् ।
पुरस्कार समर्पण समारोहमा स्व. जनार्दन मैनालीकी पत्नी कमला मैनाली, छोराहरू गंगाधर मैनाली र मुकेश मैनालीलगायत उपस्थित थिए । पत्रकार भण्डारी विराटनगरबाट प्रकाशित हुने उद्घोष दैनिकमा आवद्ध छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै एमाले उपाध्यक्ष बरालले संविधान संशोधनका लागि एमाले र नेपाली कांग्रेसको गठबन्धन बनेको बताए । लोकतन्त्रको संस्थागत विकास, देशको विकास र समृद्धिका लागि गठबन्धन बनेको उनको तर्क छ । सहमतिका आधारमा संविधान संशोधन हुने बराल बताउँछन् ।
बरालले संविधानका सबल पक्षलाई अगाडि बढाइने र कमजोर पक्षलाई संशोधन गरिने स्पष्ट पारे । संविधान संशोधनको विषयलाई प्राथमिकतामा राखेर काम भइरहेको उनको भनाइ छ ।
सरकारले सत्तामा रहेकालाई संरक्षण गर्ने र सत्ताभन्दा बाहिर रहेकालाई थुन्ने नीति नलिएको उनले बताए । गल्ती गरेमा सत्तामा बसेकाहरू पनि सजायको भागिदार बन्ने बरालको दाबी छ ।
उनले सञ्चार जगतले नेपाली राजनीतिलाई सही बाटो देखाउने काम गरेको बताए । ‘सञ्चार क्षेत्रले बाटो बिराउनेमाथि औंला उठाएको छ । लोकतन्त्रको संस्थागत विकासका लागि खबरदारी गरेको छ । लोकतन्त्रको संस्थागत विकासमा सहयोग गरेको छ,’ उनले भने ।























