सावधान ! पटका पड्काउँदा हुनसक्छ जोखिम, जानसक्छ ज्यान

मुलुकी खबर
किशोर बुढाथोकी
clock२०८१ कार्तिक १४, बुधबार १८:०३

विराटनगर । उज्यालो पर्व तिहारले छपक्कै छोपिसकेको छ । दीपावली गर्नेदेखि अनेक हिसाबले रमाइलो गरी तिहार मनाइन्छ ।

पटका पड्काएर रमाइलो गर्ने चलनसमेत बढ्दो छ । तर, प्रतिबन्धित पटकाले ध्वनि र वायु प्रदूषणसँगै मान्छेको स्वास्थ्यमा गम्भीर असर पुर्याइरहेको हुन्छ । आगलागीको जोखिम निम्त्याउँछ । अंगभंग बनाउँछ । ज्यानसमेत जान्छ ।

Advertisement

दैलेखको आठबीस नगरपालिका–३ घर भइ भारतको गुजरात प्रान्तमा बस्दै आएका १३ वर्षीय भूपेन्द्र कठायतको पटका पड्काउने क्रममा मृत्यु भएको छ । दीपावली मनाउने क्रममा रमाइलो गर्दै पटका पड्काउँदा बालकको मृत्यु भएको जानकारी नेपाल प्रहरीले प्राप्त गरेको हो । रकेट बम नामको पट्का पड्काउँदा छर्रा दायाँ छातीमा लागेको थियो ।

त्यसको असरले बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । दैलेख प्रहरी प्रमुख डीएसपी सुनील दाहालका अनुसार अभिभावकसँगै भारतमा बस्दै आएका कठायतको पटका पड्काउने क्रममा मृत्यु भएको खबर आएको छ । गुजरात प्रान्तको सुरत जिल्लामा उनका परिवार मजदुरी गर्दै आएको दाहालले बताए ।

त्यस्तै, झापाको दमकमा पटका पड्काउँदा मंगलबार साँझ बालक घाइते भएका छन् । दमक नगरपालिका–६ का ६ वर्षीय विद्यम अग्रवाल घाइते भएको झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए ।

पटका पड्काउने क्रममा छर्राले अनुहारमा लागेर घाइते भएका बालकलाई उपचारका लागि लाइफलाइन अस्पताल दमकमा लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि भारतको सिलिगुडीतर्फ लगिएको प्रहरीले जनाएएको छ । डीएसपी चन्दले घटनाका बारेमा अनुसन्धान भइरहेको जानकारी दिए ।

माथि उल्लेख गरिएका दुईवटा घटनाबाटै पटकाले कस्तोसम्म आपत् निम्त्याउँछ भनेर प्रष्ट हुन्छ । तिहारमा रमाइलो गर्ने नाममा पटका पड्काउँदा भएको मानवीय क्षतिले सबैलाई झस्काएको छ ।

पटक पड्काउँदा मानवीय एवं भौतिक क्षति हुने भएकाले नपड्काउन प्रहरीले सबैमा आग्रह गरेको छ । पटकाले मानिसको स्वास्थ्यमा असर पर्नुका साथै ध्वनि प्रदूषण र मानवीय क्षति गराउने, आगलागीलगायतको जोखिमसमेत निम्त्याउने प्रहरीले जनाएको छ ।

विज्ञहरुका अनुसार मानव स्वास्थ्यका लागि हानिकारक मानिएका रसायन र धातुहरु मिलाएर पटका बनाइएको हुन्छ । ठूलो धमाका र आवाज दिएर पड्किने पटका सबै दृष्टिकोणले निक्कै खतरनाक मानिन्छ ।

विज्ञका अनुसार लिड, सल्फरडाइअक्साइड, नाइट्रस अक्साइड र बारुद आदि पदार्थ र रसायनको प्रयोग असीमित मात्रामा गरिएको पटकाले वायु प्रदूषण मात्रै बढाउँदैन । ध्वनि प्रदूषणदेखि आगलागी, अंगभंग, मृत्युसम्मका घटना हुनसक्छ ।

पटकाको धुवाँ वायुमण्डलमा पुगेर हावामा मिसिन्छ । त्यो हावा श्वासप्रश्वासका माध्यमबाट हाम्रो शरीरमा प्रवेश गर्छ । मानव स्वास्थ्यका दृष्टिकोणले अति हानिकारक मानिने धातु मिश्रित रसायन शरीरमा प्रवेश भइ फोक्सोसम्म पुग्दा त्यसले दम, एलर्जी, क्यान्सरजस्ता प्राणघातक रोगसमेत लाग्नसक्ने विज्ञहरुले बताए ।

कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङका अनुसार चाडपर्वलाई मनोरञ्जनपूर्ण बनाउनुपर्नेमा आतसबाजीले आतंक सिर्जना गरिरहेको पाइन्छ । ‘मान्छेको स्वास्थ्यमा असर पुग्नेदेखि अनेक समस्या हुन्छ । अंगभंग हुने र ज्यानै जाने हुनसक्छ । प्रदूषणदेखि आगलागी भएर जनधनको ठूलो क्षति हुने हुँदा पटकका पड्काउन हुँदैन,’ उनले भने ।

पड्काउन निषेध गरिएको र पड्काउनेलाई नियन्त्रणमा लिएर कारबाही गरिने उनको भनाइ छ । ‘नेपाल भित्रिनै दिएन भने क्षति हुन पाउँदैन भनेर नियन्त्रणका लागि नाकामा कडाइ गरिएको थियो । विभिन्न ठाउँबाट प्रहरीले नियन्त्रणमा पनि लियो । लुकाइछिपाइ भित्राएर पड्काउने गरिन्छ । तर, यसले कस्ताकस्ता समस्या सिर्जना गर्छन् र किन पड्काउन हुँदैन भनेर सबैले बुझ्न जरुरी छ,’ खापुङले भने ।

उल्लासका नाममा बालबालिकालाई खुसी पार्न पटका दिने गरिन्छ । ‘पटकाले धन खर्च हुन्छ । सुरक्षाको जोखिम निम्तिन्छ । पटकाले दीपावलीमा उल्लास त थप्ला । एकछिन रमाइलो पनि गराउला । तर, यसले पार्ने दीर्घकालीन असरका बारेमा सबै जानकार हुनुपर्छ । पटकामा बल नगरौं,’ उनले भने ।

जनस्वास्थ्य विज्ञ डा. नवराज सुब्बा कडाइ गर्नुका साथै पटका पड्काउन हुँदैन भनेर जनचेतना जगाउनुपर्ने बताउँछन् । ‘स्वास्थ्यका दृष्टिकोणबाट ध्वनि र वायु प्रदूषणले समस्या गर्छ । धुवाँले आँखामा असर गर्छ । ध्वनि प्रदूषणले सुन्नसक्ने शक्तिमा ह्रास आउँछ,’ उनले भने ।

पटकाको आवाजले बिरामी, गर्भवती, बालबालिका र वद्धवृद्धालाई विचलित बनाउने तथा पटका पड्काउनु जनस्वास्थ्यका दृष्टिकाले एकदमै नकारात्मक हुने डा. सुब्बाको भनाइ छ । उनका अनुसार पटकामा प्रयोग हुने धातुले मानिसको रगतमा प्रवेश गरेर केन्द्रीय स्नायु प्रणालीमै असर गर्छ ।

नेपालमा पटका प्रतिबन्धित छ । तर, भारतबाट लुकाइछिपाइ भित्राउने गरिन्छ । डा. सुब्बा पटकाको धुवाँले फोक्सोमा संक्रमण हुनुका साथै दिमागमा असर गर्ने र क्यान्सर तथा हृदयघातसमेत हुने बताउँछन् । पटकाको रातो ज्वालामा पाइने लिथियम र स्ट्रोनटियम बालबालिकाको हड्डीको विकासमा बाधक बन्ने उनको भनाइ छ ।

‘शरीरको हर्मोनलाई नै असन्तुलित बनाउँछ । अरु धेरै समस्या हुन्छन् । मानव स्वास्थ्यलाई असर गर्ने पटका किन पड्काउनु ?,’ उनी प्रश्न गर्छन् ।

पटका पड्काउनेलाई के हुन्छ सजाय ?

पटकाको कारोबार, ओसारपसार, बेचबिखन गर्नेदेखि पड्काउनेसम्मलाई कानुनी कारबाहीको व्यवस्था छ । कडा विस्फोटक पदार्थ भेटिए १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिबाना हुन्छ ।

नरम विस्फोटक पदार्थ भेटिए ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिबाना हुन्छ । सामान्य प्रकारको विस्फोटक पदार्थ भए ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था छ । विस्फोटक पदार्थ उत्पादन, ओसारपसार र कारोबार गर्नेलाई दुई वर्षसम्म कैद र २० हजार रुपैयाँ जरिबाना हुने कानुनी व्यवस्था छ ।

पटकाका कारण कुनै क्षति भएको खण्डमा पीडितले अदालतमा मुद्दा दायर गर्न सक्ने र दोषी ठहर भएमा क्षतिपूर्ति तिर्नुपर्ने हुनसक्छ । नियम उल्लंघन गर्नेले हिरासत वा जेलमा बस्नुपर्ने र जरिबाना तिर्नुपर्ने प्रहरी अधिकारीहरु बताउँछन् ।

पटका पड्काउनेलाई प्रहरीले अभद्र व्यवहार मुद्दासमेत चलाउन सक्छ । प्रहरी अधिकारीका अनुसार १० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना गर्न सकिन्छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.