विराटनगर । चाडपर्वको अवसर पारेर नेकपा (एमाले) मोरङले बुधबार शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रमको आयोजना गरेको छ ।
विराटनगरस्थित पार्टी कार्यालय पाञ्चालीमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमका लागि ५ हजार जनालाई निम्ता गरिएको एमालेले जनाएको छ ।
ठूलो संख्यामा नेता कार्यकर्ता एवं शुभचिन्तकको उपस्थिति रहेको कार्यक्रममा प्रमुख अतिथि पोखरेलसहित पार्टीका उपाध्यक्ष गुरु बराल, स्थायी कमिटी सदस्य एवं कोशी प्रदेश इन्चार्ज शेरधन राई, केन्द्रीय सदस्य जीवन घिमिरे, मोती दुगड, प्रदेश अध्यक्ष घनश्याम खतिवडा, मोरङ अध्यक्ष बाबुराम कार्कीलगायतका नेताले बोलेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुकको स्थायित्वका लागि एमाले र नेपाली कांग्रेसबीच गठबन्धन भएको बताए । ‘मुलुकलाई थप संकटमा फस्न नदिन दुई ठूला पार्टी मिलेर गठबन्धन गरिएको हो । सरकार बनाइएको हो । राष्ट्रलाई संकट पर्दा दुई ठूला दलबीच सहकार्य हुन्छ,’ उनले भने ।
उनले कांग्रेस र एमालेबीच २०३६, २०४६, २०६२ र संविधान जारी गर्दा सहकार्य भएको बताए । दुई पार्टीबीचको सहकार्य आगामी २०८४ सम्म रहेको पोखरेलको भनाइ छ ।
निर्वाचनमा भने एक्ला–एक्लै लड्ने उनले बताए । ‘एमालेको यात्रामा सधैं चुनौती आउँछ । तर, पार लगाउँदै पार्टी अघि बढ्छ,’ नेता पोखरेलले भने ।