राष्ट्रपति र प्रधानमन्त्रीले दिए तिहारको शुभकामना

Share this
690shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक १५, बिहीबार ०९:३३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीले तिहारको शुभकामना दिएका छन् ।

शुभकामना दिँदै पौडेलले तिहार पौराणिक, सांस्कृतिक र वैज्ञानिक महत्त्व बोकेको उज्यालो पर्व भएको बताए । तिहारले नेपालीहरूबीच आपसी सद्‌भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्न उत्प्रेरित गरोस् भन्ने कामना उनले गरेका छन्।

‘पौराणिक, व्यावहारिक, सांस्कृतिक, मनोवैज्ञानिक एवं वैज्ञानिक महत्त्व बोकेको तिहार उज्यालो र प्रकाशको पर्व पनि हो । त्यसैले तिहारलाई हामी दीपावलीको नामबाट समेत जान्दछौँ । उज्यालो आफैँमा प्रेरणाको विम्ब हो,’ सन्देशमा भनिएको छ, ‘तिहारका माध्यमबाट प्रकट हुने मानवीय उज्यालोले हाम्रो जीवनमा प्रकाश छरी हामी सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन प्रेरित गरोस् भन्‍ने कामना गर्दछु ।’

चाडहरूले विभिन्न जातजाति, भाषाभाषि र संस्कृतिलाई एकतामा बाध्ने पौडेलले बताए । सन्देशमा भनिएको छ, ‘बडादसैंमा शक्तिकी श्रोत देवीको पूजा आराधना गरी मनाईन्छ भने तिहारमा काग, कुकुर, गाई‍, गोरु, पर्वत, लक्ष्मी र दाजुभाइको पूजा अर्चना गरी मनाइने चलन छ ।’

प्रधानमन्त्री ओलीले तिहार दाजुभाइ दिदीबहिनीबीचको सम्बन्ध बढाउने पर्व मात्र नभएर मानिस र पशुपन्छीबीचको सम्बन्ध बढाउने पर्व पनि भएको बताएका छन् । यस पर्वले पशुपन्छी र मानिसको सम्बन्धलाई  बढाउने उनले बताए ।

तिहारमा काग, कुकुर, गाई र गोरुको पूजा गरेपछि भाइटीका लगाइने भएकोले प्रधानमन्त्रीले यो पर्वलाई मानिस पशुपन्छीको पनि सम्बन्ध बढाउने पर्व भनि उल्लेख गरेका हुन् । प्रधानमन्त्रीले तिहारलाई दीपको उज्यालो र फूलको सुगन्धको पर्वको रूपमा टिप्पणी गरेका छन् । ‘यहाँ दीपको उज्यालो र फूलको सुगन्ध छ’, ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

प्रधानमन्त्रीले भनेका छन्, ‘यसले पशुपन्छी र मानिसको सम्बन्ध, अनि दाजुभाइ दिदीबहिनीको स्नेह सम्झाउँछ । आज तिहारको लक्ष्मीपूजा, सबैको घर–आँगन उज्यालो होस्, सबैको परिवारमा सुख शान्ति छाओस्, शुभकामना ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.