
काठमाडौं । आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पुराना दलसँग सहकार्य नगर्ने निर्णय लिएको छ ।
नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)लगायतका दलसँग तालमेल नगर्ने रास्वपाको नीति छ । नयाँ दलसँग भने तालमेलको ढोका खुला राखेको छ । रास्वपाले पहिलोपटक स्थानीय तहको निर्वाचनमा भाग लिन लागेको हो । पार्टीले चुनावको तयारीका लागि सांसद गणेश पराजुलीको संयोजकत्वमा कार्यदल बनाएको छ ।
पछिल्लोपटक २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन भएको थियो । चुनावबाट निर्वाचित भइ हाल रिक्त रहेका मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो ।
जिल्ला समन्वय समिति प्रमुख २, गाउँपालिका अध्यक्ष २, नगरपालिका प्रमुख १, गाउँपालिका उपाध्यक्ष ४, नगरपालिका उपप्रमुख १, गाउँपालिका वडाध्यक्ष ९ र नगरपालिका वडाध्यक्ष २१ गरी जम्मा कूल ४० पदका लागि उपनिर्वाचन हुने छ ।
संयोजक पराजुलीले चुनावमा पुराना दलसँग सहकार्य नहुने र सहकार्यका लागि नयाँ दलसँग छलफल हुनसक्ने बताए । आफ्नै दलको उम्मेदवार उठाउने, गैरदलीय स्वतन्त्र उम्मेदवारलाई सघाउने र गैरदलीय उम्मेदवारलाई रास्वपाको चुनाव चिह्नमा उठाउनेमध्ये एउटा विकल्पमा रास्वपाभित्र छलफल भइरहेको छ । आफ्नो दलको उम्मेदवारले जित्न नसके राम्रो स्वतन्त्र उम्मेदवारलाई सहयोग गर्ने भएको छ ।
आफ्ना उम्मेदवार उठाउने, नत्र घण्टी चुनाव चिन्ह लिएर उठ्ने राम्रालाई सहयोग गर्ने निर्णय भएको रास्वपा उपसभापति डीपी अर्यालले बताए । सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री एवं पार्टीका सभापति रवि लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए ।
त्यसयता रास्वपा आन्दोलित छ । चुनावलाई पनि आन्दोलनकै हिसाबले अघि बढाउने रास्वपाको तयारी छ । राजनीतिक प्रतिशोधका आधारमा लामिछानेलाई पक्राउ गरिएको दाबी रास्वपाको छ ।

























