झापामा आफैंले पालेको गोरुले हानेर कृष्णको मृत्यु

Share this
660shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक १५, बिहीबार २२:००

झापा । झापामा आफैंले पालेको गोरुले हानेर एक जना पुरुषको मृत्यु भएको छ ।

गौरादह नगरपालिका–७ जामबारीका ४८ वर्षीय कृष्ण शर्माको मृत्यु भएको झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । शर्मालाई बुधबार साँझ गोरुले हानेर घाइते बनाएको थियो ।

बाँधेको ठाउँबाट फुकाएर अन्त सार्ने क्रममा शर्मालाई गोरुले हानेको स्थानीय सीताराम खड्काले बताए । उनका अनुसार गोरुको आक्रमणबाट घाइते भएका शर्मालाई थप उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइएको थियो । त्यसअघि लाइफलाइन अस्पतालमा लगिएको थियो ।

गम्भीर अवस्थाका उनलाई उपचारका क्रममा बिहीबार दिउँसो ४ बजेतिर नोबेलका चिकित्सकले मृत घोषित गरेको जानकारी प्रहरीले दिएको छ । शवको कानुनी प्रक्रिया पूरा गर्न मोरङ प्रहरीसँग समन्वय भइरहेको डीएसपी चन्दले बताए ।

शर्मासँगै छिमेकी ४५ वर्षीय रविन राजवंशलाई पनि गोरुले हानेको थियो । टाउकोमा सीटी स्क्यान गर्नुपर्ने भएकाले उनलाई विराटनगरकै नोबेल ल्याइएको प्रहरीले जनाएको छ । अवस्था तत्काललाई सामान्य छ ।

स्थानीयका अनुसार बाँधेको ठाउँबाट फुकाएपछि गोरु निक्कै आक्रामक भएको थियो । स्थानीय र प्रहरीले समेत नियन्त्रणमा लिन नसकेको खड्काले बताए ।

उनका अनुसार स्थानीय, नगरप्रहरी र पशु प्राविधिकसहितको टोलीले बिहीबार मात्रै गोरुलाई नियन्त्रणमा लिन सकेको थियो । नियन्त्रणमा लिएपछि सुई लगाएर बेहोस बनाइएको जानकारी खड्काले दिए ।

‘नियन्त्रणमा लिन खोज्दा आक्रामक भएर जथाभावी आक्रमण गर्न थाल्यो । आक्रमणबाट गोरु धनीकै मृत्यु भयो । पशु प्राविधिकसहितको टोलीले नियन्त्रणमा लिएर बेहोस बनाएका छन्,’ खड्काले भने ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.