
विराटनगर । मोरङको केराबारी घर भएका एक जना सुनसरीको धरानबाट लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित बिहीबार साँझ पक्राउ परेका छन् ।
केराबारी गाउँपालिका–५ का १८ वर्षीय आकाश लिम्बू धरान उपमहानगरपालिका–२ भानु चोकबाट पक्राउ परेको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले बा ८० प १२२३ नम्बरको मोटरसाइकलमा सवार लिम्बूलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार लिम्बूको साथबाट ३.४० ग्राम खैरो हेरोइन बरामद भएको छ । उनीविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।
२५ किलो गाँजा बरामद
उदयपुरको बेलका नगरपालिका–८ हात्तीसुँडेबाट लागुऔषध गाँजा बरामद भएको छ । प्रहरीका अनुसार बिहीबार दिउँसो २५ किलोग्राम गाँजा बरामद गरिएको हो ।
गाँजा कसले भण्डारण गरेर राखेको थियो भनेर खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीले यस विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

























