
झापा । झापामा शुक्रबार दिउँसो दुर्घटनामा परेको मोटरसाइकल रुखमा ठोक्किँदा चालकको मृत्यु भएको छ ।
शनिश्चरेबाट बिर्तामोडतर्फ जाँदै गरेको बा ४९ प २१५९ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर अर्जुनधारा नगरपालिका–६ दास पुलमा दुर्घटनामा परेको झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । उनका अनुसार दुर्घटनामा परेको मोटरसाइकल रुखमा ठोक्किँदा चालक ताप्लेजुङको श्रीजंङ्घा गाउँपालिका(६ का २६ वर्षीय सन्तोष लिम्बूको मृत्युु भएको छ ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका लिम्बूलाई उपचारका लागि बी एन्ड सी अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार श्रीजंङ्घा गाउँपालिका–६ का २३ वर्षीय श्रीप्रसाद लिम्बू घाइते भएका छन् । उनको उपचार जारी रहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकल प्रहरीको नियन्त्रणमा छ । घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।























