
रुपन्देही । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई तिहारलगत्तै रुपन्देही लगिने भएको छ ।
कात्तिक २ गते पक्राउ परेका रविलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ । उनलाई उपस्थित गराउन रुपन्देही प्रहरीले कास्की प्रहरीलाई पत्राचार गरिसकेको छ ।
सूर्यदर्शनको हकमा भने अनुसन्धान अधिकारीहरुले लामिछानेको बयान लिइसकेका छन् । अनुसन्धान र अभियोजन अधिकारीले बयान प्रमाणित पनि गरिसकेका छन् ।
रुपन्देही प्रहरीका अनुसार बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी ठगीको अनुसन्धान गर्न लामिछानेलाई उपस्थित गराउन पत्राचार गरिएको छ । पर्व बिदा सकिएपछि कास्कीबाट ल्याएर अनुसन्धान सुरु गरिने एक प्रहरी अधिकृतले बताए ।
बुटवल स्थित सुप्रिम बचत तथा ऋण सहकारीबाट रास्वपाका सभापति लामिछानेको नाममा ऋण प्रवाह भएको भेटिएको छ । बुटवल उप महानगरपालिका–९ राजमार्ग चौराहामा सञ्चालित सुप्रिम बचतबाट लामिछानेले २०७७ चैत १८ मा २ करोड ऋण लिएका हुन् ।
२०८१ वैशाखमा रुपन्देही जिल्ला अदालतमा दायर गरिएको अभियोगपत्र अनुसार सो रकम गोरखा मिडिया नेटवर्क प्रा.लिको ग्लोबल आईएमई बैंक लिमिटेडेको खातामा जम्मा गरेको भेटिएको छ । गितेन्द्रबाबु (जीबी) राई र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशकुमार पुनसहित २८ जनालाई प्रतिवादी कायम गरेर यसअघि नै अदालतमा मुद्दा दायर गरिएको थियो ।
तर, त्यसबेला गृहमन्त्री लामिछानेलाई प्रतिवादी नबनाएकोमा प्रश्न उठेपछि अहिले उनीविरुद्ध पूरक अनुसन्धान प्रतिवेदन लैजाने गरी अनुन्धान अघि बढाउन लागिएके हो । इलाका प्रहरी कार्यालय बुटवलले उनीमाथि थप अनुसन्धान गर्ने छ ।
रवि लामिछाने गोरखा मिडिया नेटवर्कमा प्रबन्ध निर्देशक थिए । सुप्रिमका संरक्षक तथा पूर्वअध्यक्ष जीबी राईको समूहले सहकारीको १४ करोड भन्दा धेरै रकम गोरखा मिडिया नेटवर्कमा लगानी गरेको भेटिएको छ । सो १४ करोडमा रविको नामबाट आएको २ करोड पनि जोडिने अनुसन्धान अघिकारीहरु बताउँछन् ।

























