
काठमाडौं । वैदेशिक रोजगारीमा पठाइदिने भन्दै सर्वसाधारणको ५ करोड २ लाख ९४ हजार रूपैयाँ ठगी गरेर फरार बनेकी बिनु शाक्य कम्बोडियाबाट पक्राउ परेकी छन् ।
वैदेशिक रोजगारी ठगीलगायत मुद्दामा उनीविरुद्ध इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएको थियो । सिन्धुपाल्चोक मान्खा ठेगाना भएकी शाक्यलाई एनसीबी कम्बोडियाको समन्वयमा पक्राउ गरेर नेपाल ल्याइएको छ ।
उनलाई आइतबार नेपाल ल्याएर थप अनुसन्धानको प्रक्रिया अघि बढाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीका अनुसार वैदेशिक रोजगारीमा सिंगापुर पठाइदिन्छु भनी ४० जनाभन्दा बढी व्यक्तिसँग रकम उठाएर ठगी गरी शाक्य फरार भएकी थिइन् ।
शाक्यलाई थप अनुसन्धान एवं कारबाहीका लागि प्रहरी वृत्त कालीमाटीको हिरासतमा राखिएको छ । शाक्यसँगै उदयपुरको त्रियुगा नगरपालिका–१० ठेगाना भएका सुजन आचार्यलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउका लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखामा अनुरोध भएसँगै २०८० माघ १९ गते उनीहरू विरूद्ध ‘रेड नोटिस’ जारी भएको थियो।
दुवै जना २०८१ असोज १ गते कम्बोडियाबाट पक्राउ परेका थिए । आर्चालाई भने कात्तिक ९ गते नै नेपाल ल्याइसकिएको छ । शाक्य र आचार्यले सर्वसाधारणको ५ करोड २ लाख ९४ हजार रूपैयाँ ठगी गरेको प्रहरीको भनाइ छ ।

























