
विराटनगर । मोरङको रंगेली नगरपालिका–६ धाधरी पुलमा बुधबार राति मोटरसाइकल दुर्घटना हुँदा नेपाली सेनाका जवानसहित दुई जना घाइते भएका छन् ।
झुँगी टोलबाट रंगेलीतर्फ आउँदै गरेको प्रदेश ०१–०२–०४४ प ६८९७ नम्बरको मोटरसाइकल राति १० बजेतिर आफैं अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किएको थियो । प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक सुनवर्षी नगरपालिका–५ झुँगी टोलका २२ वर्षीय जयकिशोर मण्डल र पछाडि सवार २० वर्षीय गणेश मण्डल घाइते भएका छन् ।
घाइतेमध्ये जयकिशोर नेपाली सेनाका सिपाही (जवान) हुन् । सुनसरीको इटहरीमा कार्यरत उनी पोखरामा तालिमरत रहेको प्रहरीले जनाएको छ । उनको अवस्था गम्भीर छ । अर्का घाइते गणेशको अवस्था सामान्य रहेको जानकारी प्रहरीले दिएको छ ।
घाइते सेनाका जवान जयकिशाोरलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको छ । गणेशलाई सामान्य उपचारपछि रंगेली अस्पतालले डिस्चार्ज दिएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल इलाका प्रहरी कार्यालय रंगेलीको नियन्त्रणमा छ । मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।























