
विराटनगर । सूर्यको उपासना गरी मनाइने छठ पर्वको आज (बिहीबार) विशेष दिन हो । आज अस्ताउँदो सूर्यको पूजा आराधना गरी छठ मनाइन्छ । अहिले केहीबेरमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ ।
आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व समापन हुन्छ । छठको मुख्य दिन भएकाले आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । कोशी प्रदेशले भने भोलि शुक्रबार पनि बिदा दिएको छ ।
काठमाडौं उपत्यकासहित तराई मधेसका जिल्लाहरुमा छठको रौनक छ । जताततै छठको उल्लास छाएको देखिन्छ । अस्ताउँदो सूर्यलाई अर्घ्य दिन आज साँझ राष्ट्रपति, उपराष्ट्रपतिलगायत विशिष्ट व्यक्तिहरु पनि छठ पूजास्थल गएका छन् ।
विशेषगरी तराई क्षेत्रमा मनाइने छठ पछिल्लो समय पहाडी र हिमाली क्षेत्रमा पनि मनाउने क्रम सुरु भएको छ । पछिल्लो समय राजधानीसँगै अन्य क्षेत्र समुदायले पनि छठ मनाउँदा सामाजिक सद्भाव र एकता कायम गर्न मद्धत पुगेको छ ।

छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःखकष्ट हट्ने जनविश्वास छ । सबैतिर छठ पूजाको तयारी पूरा भएको छ ।
व्रतालुहरु अहिले पूजा सामग्रीसहित छठ घाटमा जान थालेका छन् । छठलाई हर्षोल्लासपूर्ण बनाउन खोला, नदी, पोखरी, तलाउलगायत शृङ्गारेर चिटिक्क पारिएको छ ।
पूजास्थलमा पण्डाल, केराको बोट, विभिन्न प्रकार फूल, विभिन्न रंगका अबिरसहित झिलिमिली बत्ती लगाएर सजाइएको छ । छठ पर्वको रौनक नै भिन्दै हुन्छ । छठ घाटस्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
























