
विराटनगर । छठ पूजाको मुख्य दिन बिहीबार अस्ताउँदै सूर्यलाई अर्घ्य दिइएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म छठ मनाउने प्रचलन छ ।
शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठको समापन हुन्छ । उखुको लाँक्रा, केराको घरीलगायतका पूजा सामग्रीसहित व्रतालुहरु रातभर जाग्राम बस्छन् ।
भोलिपल्ट बिहान उज्यालो भएपछि उदाउँदो सूर्यलाई अर्घ्य छठको समापन गर्छन् । छठमा चोखो नितो भएर व्रत बस्नुपर्छ भन्ने मान्यता छ । छठ सूर्यको उपासना गरी मनाइने पर्व हो ।

काठमाडौं उपत्यकासहित तराई मधेसका जिल्लाहरुमा छठको रौनक छ । जताततै छठको उल्लास छाएको देखिन्छ ।
विशेषगरी तराई क्षेत्रमा मनाइने छठ पछिल्लो समय पहाडी र हिमाली क्षेत्रमा पनि मनाउने क्रम सुरु भएको छ । पछिल्लो समय सामाजिक सद्भाव र एकताको प्रतिकका रूपमा राजधानीसँगै अन्य क्षेत्र समुदायले पनि छठ मनाउने गरेका छन् ।
छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःखकष्ट हट्ने जनविश्वास छ । पूजा सामग्रीसहित छठ घाटमा पुगेका व्रतालुहरु भोलि उदाउँदो सूर्यलाई अर्घ्य फर्किन्छन् ।
छठलाई हर्षोल्लासपूर्ण बनाउन खोला, नदी, पोखरी, तलाउलगायत शृङ्गारेर चिटिक्क पारिएको छ । पूजास्थलमा पण्डाल, केराको बोट, विभिन्न प्रकार फूल, विभिन्न रंगका अबिरसहित झिलिमिली बत्ती लगाएर सजाइएको छ ।
























