लिलाबल्लभ अधिकारीको जापान यात्राको नालीबेली

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कार्तिक २२, बिहीबार २३:०५

विराटनगर । मोरङको रतुवामाई नगरपालिकाका घर भइ काठमाडौं बस्दै आएका गोपाल गौतम नेकपा (एमाले)को संसदीय दलको कार्यालय आसपास भेटिने व्यक्ति हुन् । उनी सिंहदरबारको सरसफाइका लागि आवश्यक पर्ने सफाइ मजदुर सप्लाई गर्छन् । एमाले नेताहरुसँग उनको सम्बन्ध राम्रो छ ।

उनै गौतमले कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई जापानमा आयोजित कार्यक्रममा नेपालबाट जाने सहभागी खोज्ने जिम्मा आफ्नो भएको भन्दै फोन गरे । गौतमले भ्रमणको चाँजापाँजो मिलाउने भनेपछि अधिकारी जापन जान तयार भए ।

उनले राहदानी गौतमलाई बुझाए । २६ अक्टोबरमा उनलाई भिसा लागेको खबर आयो । भोलिपल्टको टिकट भन्दै गौतमले भनेपछि २७ तारिखको राति काठमाडौंबाट एक्लै जापानका लागि उडेको उनी बताउँछन् । उनको यात्राको ट्रान्जिट थियो हङकङ । २७ तारिख दिउँसो विमानस्थल अगाडि मात्रै उनलाई डकुमेन्ट दिइएको थियो । हङकङ पुगेपछि मन्त्री अधिकारीसँग तीन जना व्यक्ति भ्रमण दलको सदस्य भन्दै परिचय गर्न आए ।

‘इन्टरनेशनल कन्फ्रेन्स अन ओपन एक्सेस टु कल्चर इन जापान’ सम्बोधन गर्नेगरी जाने भन्दै हिँडेका अधिकारी हङकङमा भ्रमण दलको सदस्य भन्दै तीन जना आएपछि झस्किए । भ्रमण दलमा भन्दै संकास्पद व्यक्ति थपिएपछि नेपाल नै फर्कन खोजे । तर, नमिलेपछि जापानको टोकियो विमानस्थल पुगेको अधिकारीको भनाइ छ । । विमानस्थलबाट उनी बाहिर निस्किएनन् ।

विमानस्थलमा उनीसँग गएकाहरुसँग नक्कली परिचय पत्र भेटियो । नक्कली डकुमेन्ट भेट्नेवित्तिकै अधिकारीले नेपाल प्रहरीका डीआइजीलाई सम्पर्क गरेर विवरण पठाए । जापान विमानस्थलबाट अधिकारीले ३० अक्टोबरमा डीआईजी राजन अधिकारीलाई सम्पर्क गरेर आफूसँगै नक्कली डकुमेन्टसहित आएका व्यक्तिको विवरण पठाएका थिए । ती व्यक्तिको फोटो खिचेर पनि पठाए । त्यसपछि कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी चन्द्रकुबेर खापुङलाई पनि आफूसँग तस्करको समूहले मान्छे पठाएको भन्दै म्यासेज पठाएका थिए ।

‘यहाँबाट एक्लै जाने भनेर हिँडियो । हङकङ पुगेपछि तीन जान मान्छे त्यही कार्यक्रमका लागि आएको बताए । उनीहरु त्यतै लुक्न हिँडेको प्रस्ट देखिन्थ्यो,’अधिकारीले भने, ‘जापान पुगेपछि मैले एयरपोर्टबाट निस्कन मानिन । म ननिस्किएपछि उनीहरु पनि बाहिर जान पाएनन् ।’ विमास्थलमा अध्यागमनका कर्मचारीले सोधीखोजी गर्दा अधिकारीले उनीहरुलाई नचिन्ने बताए ।

ती व्यक्तिले अधिकारी कै भ्रमण दलको सदस्य भएको दाबी गरे । उनीहरुको कागजात जाँच गर्दा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको डुकमेन्ट नै नक्कली रहेको पाइएको थियो । खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ का ३६ वर्षीय दावा शेर्पासँग सोही वडाको वडा सदस्यको परिचय पत्र थियो ।

खोटाङकै कोपिलासगढी गाउँपालिका–४ का ४१ वर्षीय जनक राई र रसुवाको कालिका गाउँपालिका– ५ का २२ वर्षीय कञ्चन देवकोटासँग आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहायकस्तरका कर्मचारीको परिचय पत्र थियो । निमित्त कार्यालय प्रमुखले हस्ताक्षर गरेको परिचय पत्रमा निमित्त कार्यालय प्रमुख भनेर लिलाबल्लभ अधिकारीकै नाम र नक्कली हस्ताक्षर थियो ।

जापानबाट फर्कदा पनि अधिकारीले नेपाल प्रहरीका डीआजीलाई आफूसँगै आएका व्यक्तिको विवरण र सवार विमानका बारेमा टिपाएका थिए । ‘मलाई एयरपोर्टबाट जान समस्या थिएन । म जाँदा फस्ने भएकाले एयरपोर्टबाटै फर्किएको हो । ती व्यक्तिलाई लिएर फर्किएँ,’अधिकारीले भने,‘ आफ्नै कार्यकर्तालाई विश्वास गर्दा तस्करको समूहले फसायो ।’

अधिकारीको जापान यात्रा मन्त्रिपरिषद्बाट स्वीकृत भएको थिएन । मन्त्रिपरिषद्बाट स्वीकृत नभएको यात्रा विवादमा परेपछि उनले छानबिनका लागि भन्दै राजीनामा दिएका थिए । राजीनामाको घोषणा गर्ने क्रममा उनले तीन जना असम्बन्धित व्यक्तिका बारेमा पनि बताए ।

प्रहरीले यो घटनाको छानबिन गरिरहेको छ । यो घटनाको अनुसन्धानका लागि प्रहरीले मन्त्रीसँगै जापानको विमानस्थलबाट फर्किएका तीन जनालाई काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।

उनीहरुको बयानका आधारमा दोलखा जिरी नगरपालिका–९ का वीरबहादुर सुनुवार, नुवाकोट बिदुर नगरपालिका– ७ का २२ वर्षीय जुगल रिजाल र धादिङको त्रिपुरासुन्दरी गाउँपालिका– ६ का ३४ वर्षीय महेशविक्रम पाण्डे पक्राउ परेका छन् ।

पक्राउ परेकामध्ये पाण्डेले मन्त्रीको डकुमेन्टको चाँजोपाँजो मिलाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । २७ तारिखमा जापान उड्ने बेलामा विमानस्थलमा मन्त्री अधिकारीलाई पाण्डेले नै डुकुमेन्ट ल्याइदिएका थिए । तर, ती व्यक्तिको विवरण भनेका थिएनन् । मन्त्रीको जापान यात्राको चाँजोपाँजो मिलाएका उनले नै जापान जानेसँग प्रति व्यक्ति १० लाखको दरले पैसा उठाएका थिए । यो गिरोहमा अन्य व्यक्ति पनि जोडिएको प्रहरीको भनाइ छ । प्रहरीले उनीहरुको पनि खोजी गरिरहेको छ ।

‘यिनीहरुलाई त्रिभुवन विमानस्थलमा देखेको मात्र भए म कुनै हालतमा जाने नै थिइनँ । हङकङ एयरपोर्टमा देखेपछि मेरो जिउ भारी भयो । छटपटि भयो, एयरपोर्टबाटै फर्कने चेस्टा गरेपनि पार लागेन, अनि इमिग्रेसनमा जे सत्य थियो त्यहीँ भन्दिए,’ अधिकारीले भने, ‘मलाई गलत रोक्नुपर्छ भन्ने लाग्यो र सम्मेलनमा नजाने निष्कर्षमा पुगे । त्यसपछि त उनीहरु पनि रोकिए । मलाई प्रयोग गरेको रहस्य खुल्यो ।’

नेपाल प्रहरीका डीआईजी राजन अधिकारीले पनि मन्त्री अधिकारीले नक्कली डकुमेन्ट लिएर गएका व्यक्तिका विषयमा जानकारी गराएको बताए । नेपाल फर्किएपछि विमानस्थलबाट तीन जनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको उनले जानकारी दिए ।

जापान यात्राका लागि मन्त्रीलाई ‘कन्भिन्स’ गराउने गोपाल गौतम भने फरार छन् । प्रहरीले उनको खोजी गरिरहेको छ । मानव तस्करीको गिरोहसँग जोडिएको भनेर मन्त्री अधिकारीको पनि आलोचना भइरहेको छ । यद्यपि, यो विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । अधिकारीले भने अनुसन्धानलाई सहज बनाउनकै लागि आफूले मन्त्री पदबाट राजीनामा दिएको बताए ।

‘म गल्ती रहेछु र मेरो दोष देखियो भने भने ममाथि पनि कारबाही हुनुपर्छ । प्रहरीले अनुसन्धान राम्रोसँग गरोस् । अनुसन्धानमा सहयोग पुगोस् भनेरै पदबाट राजीनामा दिएको हुँ,’ उनले भने, ‘मैले त प्रहरीलाई गिरोहसम्म पुग्ने वातावरण बनाइदिएको छु । मेरो कुनै खोट देखियो भने सजाय भोग्त तयार छु । यसमा कुनै कोकोहोलो गर्नुपर्ने आवश्यकता नै छैन ।’ अधिकारीले मन्त्रिपरिषद्बाट भ्रमण स्वीकृत नगराइकन जापना लागेको विषयमा चैं आफ्नो गल्ती भएको स्वीकार गरेका छन् ।

‘मेरो कुनै गलत नियत भएको भए प्रहरी अधिकारीलाई बेलैमा घटना जानकारी गराउने थिइन । सबै कुरा अनुसन्धान गर्ने निकायको जिम्मामा छ । अनुसन्धानले सबै कुरा पत्ता लगाउँछ ,’ उनले भने ।  नेपाल प्रहरीले भने यो प्रकरणलाई आधिकारिक हिसाबले सार्वजनिक गरेको छैन ।

छानबिन गर्न माओवादी केन्द्रको माग

नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलले कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी मुछिएको घटनाको छानबिन गर्न माग गरेको छ । मन्त्रीको जापान यात्रा मानव तस्करीको गिरोहसँग जोडिएपछि गम्भीर छानबिन हुनुपर्ने माग माओवादीले गरेको हो ।

प्रदेश सरकारको आचारसंहिता र भ्रमण निर्देशिकाविपरीत मन्त्री भ्रमणमा जानु र मानव तस्करीमा जोडिनुले प्रदेशवासीकै शीर निहुरिएको माओवादीको दाबी छ । ‘मुख्यमन्त्रीको अनुमति लिनुपर्ने गरी आचारसंहिता बनाएको छ । विदेश भ्रमणमा जाँदा त प्रदेश मन्त्रिपरिषद्को निर्णयसहितको सिफारिसको आधारमा संघीय सरकारले सहमति दिनुपर्ने प्रावधान रहेको छ,’ माओवादी कोशी प्रदेश संसदीय दलकी प्रमुख सचेतक गीता तिम्सिनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘त्यसविपरीत कूटनीतिक मर्यादाको उल्लंघन गर्दै प्रदेश सरकारको मन्त्री विदेश भ्रमणमा जानु र मानव तस्करीजस्तो गम्भीर अपराधमा संलग्न हुनुले सिंगो प्रदेशवशीको शीर निहुरिएको छ ।’

नेपालबाट जापानमा सिधै उडान भएपनि हङकङ ट्राञ्जिट भएको उडान प्रयोग गर्नुले यो प्रकरण गम्भीर लापरबाही मात्र नभएर उच्च पदस्त व्यक्तिहरुको मिलेमतो र योजनामा भएको नक्कली भुटानी शरणार्थी प्रकरणजस्तै मानव तस्करीको नयाँ प्रकरण त हैन भन्ने आशंका पैदा भएको माओवादीले दाबी गरेको छ ।

clockप्रकाशित मिति:  २०८१ कार्तिक २२, बिहीबार २३:०५
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.