
झापा । झापाका अलगअलग स्थानमा आगलागी हुँदा १० लाखभन्दा बढीको क्षति भएको छ ।
बिर्तामोड नगरपालिका–८ प्याकुरेल चोकका शिवलाल गौतमको घरसँगै रहेको भान्सा कोठामा बिहीबार राति ८ः३० बजेतिर आगलागी भएको थियो । आगोले भान्सा कोठा पूर्णरूपले जलेर क्षति पुगेको छ ।
त्यस्तै २ वटा ग्यास सिलिण्डर विस्फोट भइ ग्यास चुल्हो, भाँडावर्तन, अन्नपात, एउटा स्कुटर, घरको दक्षिणतर्फको बरण्डाको भागसमेत जलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागीमा १० लाख बराबरको क्षति भएको छ ।
आगो नियन्त्रणमा लिने क्रममा स्थानीय मोहन तिमल्सिनाको हात, खुट्टा, गाला र ढाडमा चोट लागेको छ । सामान्य घाइते अवस्थाका उनको स्थानीय मेडिकलमा उपचार गराइएको छ ।
स्थानीय र दमकलको सहयोगमा प्रहरीले राति ९ बजेतिर आगो नियन्त्रणमा लिएको थियो । आगलागीको कारण खुल्न बाँकी छ । अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, झापा गाँउपालिका–३ सिमलबाडी लालमोहरस्थित वसिया हेमरमको भान्सा कोठामा शुक्रबार बिहानका राति आगलागी हुँदा ९० हजार मूल्य बराबरको क्षति भएको छ । प्रहरीका अनुसार बिहान १ः३० बजेतिर आगलागी सुरु भएको थियो ।
आगोले भान्सा कोठा र कर्कटपाताको छानो तथा सिमेन्टको खम्बा प्रयोग गरेर बनाइएको घर पूर्णरूपले जलेर ध्वस्त भएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार घरभित्र रहेको १० हजार रूपैयाँ नगदसमेत जलेको थियो ।
आगोले १० वटा खुकुृरा, ८ मन धान, ३ बोरा चामल, लत्ताकपडा, भाँडावर्तनलगायत जलेको प्रहरीले जनाएको छ । प्रहरीले स्थानीयको सहयोगमा आधा घण्टापछि आगो नियन्त्रणमा लिएको थियो ।























