
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज (शुक्रबार)देखि पाँच महिनासम्म दैनिक १० घण्टा बन्द हुने भएको छ ।
धावनमार्ग विस्तार, ट्याक्सी–वे, पार्किङ–वेलगायत काम गर्नुपर्ने भएकाले विमानस्थल बन्द गरिने भएको हो । आगामी चैत १८ गते रातिसम्म विमानस्थल दैनिक १० घण्टा बन्द रहने छ ।
बिहान ६ बजेदेखि राति २ बजेसम्म खुल्ने विमानस्थल अब राति १० देखि भोलिपल्ट बिहान ८ बजेसम्म बन्द रहने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार स्तारोन्नति गरेर विमानस्थलको कार्य क्षमता बढाउन लागिएको हो ।
काठमाडौं विमानस्थल रातिको समयमा बन्द हुने भएसँगै वायुसेवा कम्पनीहरूले पनि आफ्नो निर्धारित उडान तालिका परिमार्जन गरेका छन् । धावनमार्गको स्तरोन्नतिपछि यसअघि देखिएका जहाज आउजाउ तथा ट्राफिकिङको समस्या हट्ने अपेक्षा गरिएको छ ।























