ताप्लेजुङ । प्रशिद्ध धार्मिक तीर्थस्थल पाथीभरामा केवलकार बनाउन दिनुपर्ने र बनाउन दिन नहुने पक्षबीच शुक्रबार दिउँसो दोहोरो झडप भएको छ ।
झडपमा परेर केही व्यक्तिहरु घाइते भएका छन् । घाइते हुनेहरुको विवरण प्राप्त हुन बाँकी रहेको कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङले जानकारी दिए ।
‘केवलकार बनाउन दिने र नदिने पक्षबीच दोहोरो झडप भएको हो । दोहोरो ढुंगा हानाहानमा केही व्यक्तिहरु घाइते भएका छन् । कति जना घाइते भए भन्ने विवरण आइसकेको छैन । म बुझ्दै छु,’ खापुङले भने । उनका अनुसार घटनास्थल वरपरको सुरक्षा व्यवस्था कडा पारिएको छ । ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर स्थितिलाई नियन्त्रणमा लिइसकिएको जानकारी उनले दिए ।
घटनास्थल वरपरको अवस्था अहिले पनि तनावपूर्ण छ । केवलकार बनाउन दिने र नदिने पक्षबीच दोहोरो ढुंगा हानाहान चलिरहेको छ । झपडाका कारण ठूलोफेदी असान्त बनेको छ । थप विवरण प्राप्त भइसकेको छैन ।
तस्बिरहरु हेमराज निरौलाको फेसबुकबाट ।