पाँचथर । पाँचथरमा गोलिया लोड गरेर गन्तव्यतर्फ जाँदै गरेको ट्रक दुर्घटना हुँदा शुक्रबर दिउँसो एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।
मेची राजमार्गअन्तर्गत हिलिहाङ गाउँपालिका–६ मा ना ४ ख ७१२३ नम्बरको ट्रक आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका इन्स्पेक्टर बेनिलाल साहका अनुसार दुर्घटनामा हिलिहाङ–३ का ५७ वर्षीय भवानी शंकर पौडेलको मृत्यु भएको हो ।
दुर्घटनामा परेर ट्रकमा सवार इलामको सूर्योदय नगरपालिका–१२ का ५२ वर्षीय तेजबहादुर दास र झापा बिर्तामोडका ४० वर्षीय राजकुमार बस्नेत घाइते भएको इन्स्पेक्टर साहले बताए । उनका अनुसार गम्भीर अवस्थाका दुवै जनालाई पाँचथर अस्पतालमा सम्भव नभएपछि थप उपचारका लागि झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पताल रेफर गरिएको छ ।
हिलिहाङ–१ सिंहापुरदेखि गोलिया लिएर झापातर्फ जाँदै गरेको ट्रक दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनाको थप अनुसन्धान भइरहेको जानकारी प्रहरीले दिएको छ ।