
काठमाडौं । गृह मन्त्रालयले आगामी उपनिर्वाचनका लागि सुरक्षा तयारी थालेको छ । मंसिर १६ गते हुने उपनिर्वाचनको सुरक्षा व्यवस्था मजवुत बनाउन तयारी थालिएको हो ।
गृहले नेपाल र सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागलाई सुरक्षा तयारी थाल्न निर्देशन दिइसकेको छ । निर्देशनपछि प्रहरी प्रधान कार्यालयले कार्य विभागका एसपी सञ्जयसिंह थापाको नेतृत्वमा सुरक्षा समिति गठन गरेको छ ।
उक्त समितिले निर्वाचनको सुरक्षाका लागि चाहिने सम्पूर्ण तयारी गर्ने नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी दानबहादुर कार्कीले बताए । उनका अनुसार सम्बन्धित निकायहरु समन्वय गर्ने, सुरक्षा तयारी गर्ने, निर्वाचनका लागि चाहिने बन्दोबस्तीको सामानहरुको व्यवस्था गर्नेलगायत सबै काम केन्द्रीय निर्वाचन सुरक्षा समितिबाटै हुन्छ ।
समितिले सम्बन्धित ठाउँको अनुगमन, सुरक्षाकर्मी परिचालन, थप जनशक्ति माग, विभिन्न सुरक्षा रणनीतिहरुको अध्ययन गर्ने छ । त्यसका लागि उपनिर्वाचन हुने जिल्लाका प्रहरी प्रमुखहरुसँग चुनावको क्रममा हुनसक्ने सुरक्षा चुनौती र आवश्यक रणनीतिक योजना समेत केन्द्रीय निर्वाचन सुरक्षा समितिले माग गरेको छ ।
जिल्लाले दिएको रिपोर्टका आधारमा सुरक्षा रणनीति बनाएर कार्यान्वयन गर्ने तयारी केन्द्रीय सुरक्षा समितिको छ । उपनिर्वाचन हुने ठाउँ तथा जिल्लाका सुरक्षाकर्मी नपुगेको अवस्थामा अन्य जिल्लाका सुरक्षाकर्मीहरु मागेर परिचालन गर्नेसम्मको अधिकार केन्द्रीय निर्वाचन सुरक्षा समितिलाई दिइएको छ ।
सशस्त्र प्रहरी बलले पनि उपनिर्वाचन सुरक्षा तयारी थालेको छ । सशस्त्रको कार्य विभागका एसएसपी दिग्विजय सुवेदीको नेतृत्वमा सशस्त्र प्रहरीले केन्द्रीय निर्वाचन सुरक्षा सेल गठन गरेर काम सुरु गरेको हो ।
जिल्लादेखि केन्द्रसम्म निर्वाचन सुरक्षा सेलसमेत गठन गरेर काम सुरु गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताए । उनका अनुसार उपनिर्वाचन हुने सम्बन्धित क्षेत्रको बाहिनीमा एसपीको कमाण्डमा, गणमा डीएसपीको कमाण्डमा र गुल्ममा इन्सपेक्टरको कमाण्डमा सुरक्षा सेल गठन गरेर काम सुरु गरिएको थापाले बताए ।
विविध कारणले रिक्त स्थानीय तहका पदमा मंसिर १६ गते उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगले स्थानीय तहका विभिन्न ४४ रिक्त पदमा उपनिर्वाचन गर्न लागेको हो ।

























