
झापा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको मेचीनगर नगरपालिका–७ मा कारमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ ।
काँकडभिट्टाबाट इँटाभट्टातर्फ जाँदै गरेको बा ६० प २५३७ नम्बरको मोटरसाइकलले ब्याक गर्दै गरेको बीएए–८६८७ नम्बरको कारलाई पछाडिबाट ठक्कर दिएको थियो । बिहीबार दुर्घटना हुँदा मोटरसाइकल चालक मेचीनगर–७ का २५ वर्षीय राजमान विकको मृत्यु भएको छ ।
गम्भीर घाइते भएका विकको उपचारका क्रममा बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा शुक्रबार राति मृत्यु भएको झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । कार र चालक रामेछापको खाँडादेवी गाउँपालिका–४ का ३४ वर्षीय दिनेश कँडेललाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।























