
ताप्लेजुङ । ताप्लेजुङमा रहेको प्रशिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरसम्म पुग्ने केवलकार निर्माण १५ महिनाभित्र सक्ने गरी काम सुरु भएको छ ।
केवलकारको शुक्रबार शिलान्यास गरिएको छ । केवलकार बनाउनुपर्ने र बनाउन दिन नहुने पक्षबीच शुक्रबार दोहोरो झडपसमेत भएको थियो । झपडमा सशस्त्रका इन्सपेक्टरसहित ६ जना घाइते भएका थिए ।
संविधानसभा सदस्य एवं नेकपा (एमाले) ताप्लेजुङका अध्यक्ष डम्बरध्वज तुम्बाहाम्फे र फुङलिङ नगरपालिकाका नगरप्रमुख अमिर मादेनले केबलकार निर्माणको शिलान्यास गरेका हुन् । पाथीभरा देवीको जय–जयकारसहित केवलकार निर्माणको शिलान्यास गरिएको निर्माण कम्पनी हिमालय कन्स्ट्रक्सनका प्रमुख इन्द्र केदेम बताउँछन् ।
अब काम द्रुत गतिमा अघि बढाउने उनको भनाइ छ । पाथीभरा केवलकार कुनै एउटा कम्पनीको मात्र नभएर यो समग्र ताप्लेजुङ जिल्लाको आर्थिक, सामाजिक र सांस्कृतिक विकाससँग जोडिएको र यसले ताप्लेजुङ तथा समग्रमा कोशी प्रदेशकै आर्थिक समृद्धिको ढोका खोल्ने मेयर मादेनको भनाइ छ । उनले केवलकार निर्माण कार्य तीव्र गतिमा अगाडि बढाउन सबै पक्षले सहयोग गर्नुपर्ने बताए ।
यसअघि केवलकार निर्माण हुने क्षेत्रमा रहेका रूखहरू हटाइएको र शुक्रबारबाट निर्माणको औपचारिक सुरुवात भएको केवलकार कम्पनी सञ्चालक समितिका सदस्य रुद्र पौडेलको भनाइ छ । उनले अबको १५ महिनाभित्र काम भइसक्ने र त्यसपछि केवलकार चढ्न पाइने बताए ।
पौडेलका अनुसार पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना, वातावरणीय सन्तुलन र आर्थिक तथा सामाजिक विकासका लागि केवलकार लाभदायक बन्ने अपेक्षा गरिएको छ ।
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले केवलकार निर्माणमा कुनै समस्या वा अवरोध आएमा स्थानीय प्रशासनले सुरक्षाको व्यवस्था मिलाउने बताए । ‘शान्ति सुरक्षा निरन्तर हेर्नैपर्ने विषय हो । केवलकार निर्माणमा कुनै अवरोध वा समस्या आएमा नागरिकको जिउ, धनको सुरक्षा गर्न प्रशासन तयार छ,’ उनले भने ।
यस्तो छ केवलकार विवाद
पाथीभरामा केवलकार बनाउनुपर्ने र बनाउन दिन नहुने पक्षबीच तल्लो फेदीको काफ्ले पाटीमा शुक्रबार झडप भयो । प्रहरीले बल प्रयोग गरेर स्थितिलाई नियन्त्रणमा लिएको थियो ।
पाथीभरा मन्दिरमा जाने केवलकार निर्माण गरिनु हुन्न भनेर लामो समयदेखि पहिचान पक्षधरहरू आन्दोलन गर्दै आएका छन् । उनीहरूले पाथीभरालाई मक्कुमलुङ्गका नाममा विशेष आस्था राख्ने गर्छन् ।
मुकुम्लुङ्ग मुन्धुमी संस्कृतिको आस्थाको केन्द्र भएकाले पाथीभरामा केवलकार निर्माण दिन हुँदैनभन्ने उनीहरुको माग छ । पाथीभरा देवी मन्दिर जानका लागि केवल कार निर्माण गर्ने निर्णय भएसँगै ४ वर्षदेखि सो क्षेत्रमा आन्दोलन हुँदै आएको छ ।
केवलकार निर्माण गर्न नहुने भन्दै पटकपटक पहिचान पक्षधरहरूले ज्ञापन पत्र बुझाउँदै आएका छन् । पाथीभरा दर्शन केवलकार प्रा.लिले पाथीभरामा जाने केवलकार निर्माण गर्ने अनुमति पाएको छ । केवल कार निर्माणका लागि ४.९७ हेक्टर जमिन दिने निर्णयसमेत सरकारले गरिसकेको छ ।
पाथीभराको तल्लो फेदी काफ्लेपाटीबाट मन्दिरसम्म २.७४ किलोमिटर दूरीमा केवलकार निर्माणको योजना छ । निर्माणका लागि २ अर्ब ५५ करोड लागत अनुमान गरिएको छ । निर्माणको जिम्मा पाउने कम्पनी व्यवसायी चन्द्र ढकाल नेतृत्वको आइएमइ ग्रुपको हो ।
केवलकार निर्माण हुँदा ताप्लेजुङका तीनवटा पालिका प्रभावित हुने छन् । फुङ्लिङ नगरपालिकाका र श्रीजंगा गाउँपालिका अध्यक्ष केवलकार निर्माणको पक्षमा छन् । फक्ताङलुङ गाउँपालिका अध्यक्ष यस विषयमा मौन देखिएका छन् ।
निर्माण कम्पनी र निर्माण गर्नुपर्छभन्ने पक्षले केवलकार निर्माण भए पाथीभरामा आउने भक्तजनको संख्या र आर्थिक गतिविधि बढ्ने बताउँदै आएका छन् । तर, निर्माण गर्न दिन हुन्न र दिनुपर्छ भन्ने विवाद कायमै रहेका बेला केवलकार निर्माण सुरु भएको हो ।























