
काठमाडौं । पूर्वगृहमन्त्रीसमेत रहेका पार्टी सभापति रवि लामिछाने पक्राउ परेयता आन्दोलित बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको छ ।
सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि भनेर लामिछानेलाई प्रहरीले कात्तिक २ गते पक्राउ गरेको थियो । उनी अहिले कास्की प्रहरीको हिरासतमा छन् । लामिछानेमाथि संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान भइरहेको प्रहरी अधिकारी बताउँछन् ।
लामिछानेलाई राजनीतिक पूर्वाग्रहका आधारका पक्राउ गरिएको भन्दै रास्वपाले आन्दोलन गरिरहेको छ । पार्टीको शनिबार बसेको केन्द्रीय समिति बैठकले दोस्रो चरणको आन्दोलन सुरु गर्ने र त्यसलाई सशक्त बनाउने निर्णय लिएको जानकारी रास्वपाका नेता कवीन्द्र बुर्लाकोटीले बताए ।
उनले मुलुकमा व्याप्त भ्रष्टाचार र कुशासनविरुद्ध, सहकारी पीडित, लघुवित्त एवं मिटरब्याज पीडितका समस्या समाधान, प्रवासमा रहेका नेपाली युवाहरूको मुलुक निर्माणमा सहभागिता र प्रवासका समस्या समाधान एवं संविधान संशोधनसँग सरोकार राख्ने राष्ट्रिय राजनीतिका मूल मुद्दाहरूमा केन्द्रित रही आमनागरिकहरू र राष्ट्रिय हितका शक्तिहरूको सहकार्यमा अब दोस्रो चरणको सशक्त आन्दोलन गर्ने निर्णय भएको बाताए ।

























