
विराटनगर । राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती आज (आइतबार) परेको छ । किराँत धर्मगुरु फाल्गुनन्दको १४० औं जन्मजयन्ती विविध कार्यक्रम गरेर मनाइँदै छ ।
उनको जन्मजयन्ती प्रत्येक वर्ष कात्तिक २५ गते पर्छ । जन्मजयन्तीका अवसरमा कोशी प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । संघीय सरकारले भने किराँत समुदायका लागि मात्रै बिदा दिएको छ । फाल्गुनन्दलाई सरकारले २०६६ साल मंसिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको थियो ।
फाल्गुनन्दको जन्म विक्रम संवत १९४२ साल कात्तिक २५ गते इलामको साविक इभाङ–५ चुक्चिनाम्बामा भएको हो । सामान्य परिवारमा जन्मिएका महागुरु फाल्गुनन्दले किराँत, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा महत्वपूर्ण योगदान गरेका छन् ।
समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माणसमेत गरेका थिए । विश्वभर अनुशरण गरिने सत्य धर्म मुचुल्का नीति १९८८ साल वैशाख २४ गते जारी गरिएको थियो । नीति बनाएरै किराँत समाज सुधारमा लागेका उनको विक्रम संवत २००५ सालमा निधन भएको हो ।
समाज सुधारमा पुर्याएको योगदानको कदर गर्दै सरकारले उनलाई राष्ट्रिय विभूति घोषणा गरेको छ । उनको योगदानको कदर गर्दै फाल्गुनन्द जयन्ती मनाउने गरिन्छ । विशेष गरेर किराँती समुदायको बसोबास रहेको ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापालगायतमा मनाइन्छ ।
रुढीवादी परम्परा विरोधी फाल्गुनन्द प्रेम र अहिंसाका अनुयायी हुन् । मुलुकले राष्ट्रिय विभूति मानेका फाल्गुनन्दले प्रतिपादन गरेका दर्शन र वाणीहरु मानव जीवनको निम्ति अपरिहार्य मानिन्छ । ‘सत कर्म, सत मार्ग, सत आहार र सत विचार’ उनको दर्शन हो ।
विशेष गरेर पूर्वी पहाडी जिल्लामा किराँत समुदायको बसोबास छ । सामाजिक, आर्थिक र साँस्कृतिक रुपमा रुपान्तरण गरी प्रकृति प्रेमी किराँत समुदायलाई विकासको मूलधारमा ल्याउन र यो समुदायको चेतनास्तर उकास्न फाल्गुनन्दको महत्वपूर्ण भूमिका रहेको छ ।
अनुयायीहरुले नेपालसहित अमेरिका, बेलायत, जापान, अष्ट्रेलिया, भुटान र भारतलगायतका देशमा पनि फाल्गुनन्द जन्मजयन्ती मनाउने गर्छन् । उनको सम्मानमा पाँचथर जिल्लाको एउटा गाउँपालिकको नाम नै फाल्गुनन्द राखिएको छ ।
झापा जिल्लाको शान्तिनगरमा पूर्णकदको प्रतीमा राखिएको छ । दमक, इलाम, ताप्लेजुङ, पाँचथर हुँदै चीन जोड्ने सडकमार्गलाई सरकारले फाल्गुनन्द राजमार्ग नामकरण गरेको छ । नेपाल सरकारले उनको तस्बिर अंकित हुलाक टिकट प्रकाशन गरेको छ ।
पिता जगनबाज लिम्बू र आमा हंसमती लिम्बूका साँहिला सन्तान फाल्गुनन्दको न्वारनको नाम नरध्वज लिङ्देन हो । बाल्यकालमै सिकिस्त बिरामी परेपछि उनलाई फलामका चुरा बनाएर लगाइदिँदै पिताले नाम फलामसिंह राखिदिए । पछि उनी बेलायती सेनामा भर्ना भए ।
पल्टनमै उनको नाम परिवर्तन भयो । फलामसिंहबाट फाल्गुनन्द भए । पूरा नाम फाल्गुनन्द लिङ्देन हो । बेलायत पल्टनमा हुँदा पनि पूजापाठमा तल्लीन भइरहने उनलाई साथीहरुले ध्यानी, योगी, तपस्वीलगायतका उपनाम दिएका थिए ।
विश्वमा शान्ति नहुने निष्कर्ष निकाल्दै बेलायती सेनाबाट राजीनामा दिएर उनी आफ्नै जन्मभूमि इलाम फर्किएर समाज सुधारमा केन्द्रित भए । अहिंसा र शान्तिमा लाग्न सबैलाई प्रेरित गरे । निधनपछि उनको जन्मजयन्ती मनाउन थालिएको हो ।























