
विराटनगर । कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले घरबाटै पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका–२ स्थित घरबाट अहिले केही बेरअघि अधिकारीलाई पक्राउ गरेर विराटनगर विमानस्थलतर्फ लगिएको छ । त्यहाँबाट दिउँसो १ः५० बजेतिर काठमाडौं लैजाने तयारी छ । अदालतबाट अनुमति लिएर उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सादा पोसाकका प्रहरीले आइतबार (आज) बिहानैदेखि अधिकारीको घर घेरा हालेका थिए ।
पक्राउका लागि सहजीकरण गर्न काठमाडौं प्रहरी परिसरबाट आएको टोलीसँग मोरङ प्रहरी प्रमुख एसपी नारायण चिमरिया पनि पुगेका थिए । अधिकारीले आफूविरुद्ध लागेको आरोपको अनुसन्धानमा प्रहरीलाई सहयोग गर्ने बताउँदै आएका छन् । उनी आजै दिउँसो १ः५० बजेको यति एयरलाइन्सको जहाजमार्फत काठमाडौं जाने तयारीमा थिए ।
स्रोतका अनुसार आफू अनुसन्धानमा सहयोग गर्न तयार रहेको निवेदनसहित काठमाडौंस्थित प्रहरीको सम्पर्कमा जान लागेका थिए । तर, प्रहरीले बिहानैदेखि घरमा घेरा हालेर उनलाई पक्राउ गरेको हो ।
जापान भ्रमणमा जाने नाममा मानव तस्करी गरेको आरोप अधिकारीमाथि लागेको छ । तर, अहिलेसम्म विकसित घटनाक्रमले भने मानव तस्करीको जालोमा अधिकारी ‘अन्जान’मा परेको देखिन्छ । उनले जापानबाटै प्रहरी अधिकारीलाई सम्पर्क गरेर घटनाको जानकारी दिएका थिए ।
प्रहरीले पक्राउ गर्नसाथ अधिकारीले आफू अनुसन्धानमा सहयोग गर्न गएको बताए । प्रहरीले पक्राउ गर्दै गर्दा उनले भने, ‘म अनुसन्धानमा सहयोग पुर्याउन हिँडेको हुँ । कानुन भन्दामाथि कोही छैन । अनुसन्धानमा सहयोग पुर्याउनु मेरो कर्तव्य र दायित्व हो । अनुसन्धानबाट सत्यतथ्य थाहा हुन्छ ।’

























