
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–४ कटहराको बाँसघारीभित्र ‘बाह्रमासे’ जुवा खाल सञ्चालन हुन्थ्यो ।
लामो समयदेखि अवैध जुवा खाल चलिरहे पनि प्रहरीले अनदेखा गरिरहेको थियो । खालमा दैनिकजसो नामुद जुवाडेको उपस्थिति रहन्थ्यो । तर, बारम्बार स्थानीयले सूचना दिइरहँदा पनि प्रहरीले जुवा नियन्त्रण गर्न र जुवाडेलाई पक्राउ गर्न चासो दिएन ।
जनगुनासो बढ्दै गएपछि प्रहरीले भदौ २९ गते राति जुवा खालमा छापा हान्यो । खालबाट ग्रामथान–४ का ५९ वर्षीय शिवनारायण माझी थारु, महोत्तरीको गौशाला नगरपालिका–१ का ४५ वर्षीय महेश साह, सुनसरीको धरान उपमहानगरपालिका–१५ का ४५ वर्षीय युवक राईसहित ९ जना पक्राउ परे ।
पक्राउ पर्ने अन्यमा सुनसरीको दुहबी नगरपालिका–६ का ४५ वर्षीय जयकिशोर साह, झापाको दमक नगरपालिका–१० का ४६ वर्षीय ऋतुवर्ण नेम्वाङ, मोरङको सुन्दरहरैँचा नगरपालिका–१ का ५० वर्षीय जनककुमार मास्के, ३२ वर्षीय प्रताप राई, ग्रामथान–४ का ५५ वर्षीय अहिलाल माझी र लेटाङ नगरपालिका–९ का ३८ वर्षीय लोकनाथ सापकोटा थिए ।
पक्राउ परेकाको साथबाट १८ लाख ५१ हजार ५ सय रूपैयाँ नगद, १६ थान कौडा, १२ बुक तास, पाडर, पैसा राख्न प्रयोग गरिने काठको बाकसलगायत बरामद भएको थियो । पक्राउ परेका सबै जना पछि धरौटीबापतको रकम बुझाएर छुटे ।
पक्राउ पर्ने प्रतिष्ठित र धनाड्य व्यक्तिमध्ये एक जना थिए, ग्रामथान गाउँपालिकाका पूर्वअध्यक्ष शिवनारायण माझी थारु । उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट ग्रामथान गाउँपालिकाको अध्यक्ष निर्वाचित भएका थिए ।
विवादरहित ढंगबाट ५ बर्से कार्यकाल सम्पन्न गरेका उनी २०७९ को निर्वाचनमा भने नेपाली कांग्रेसका जयप्रकाश गच्छदारसँग पराजित भए । जयप्रकाशले ७ हजार ६ सय ५ मत ल्याउँदा निकटम प्रतिस्पर्धी शिवनारायणले ६ हजार ९३ मत मात्रै ल्याए ।
जयप्रकाशको गत असार ३ गते निधन भएको थियो । उनको निधनसँगै आगामी मंसिर १६ गते ग्रामथानमा उपनिर्वाचनमा हुँदै छ । नेताहरुका अनुसार उपनिर्वाचनका लागि एमालेबाट शिवनारायणलाई नै अध्यक्षको टिकट दिने तयारी गरेको यो ।
तर, उनका लागि जुवा काण्ड बाधक बनिदियो । जुवा विवादमा फसेपछि उनको टिकट गुम्यो । एमालेले गाउँपालिकाको अध्यक्षमा तुलसीराम विश्वासलाई उठाउने टुंगो गरिसकेको छ ।
एमाले ग्रामथान गाउँ कमिटीले अध्यक्षमा तुलसीराम र शिवनारायणसहित ११ जनाको नाम सिफारिस गरेको थियो । पार्टीको जिल्ला र कोशी प्रदेश कमिटीले पनि तुलसीराम र शिवनारायणसहित निर्मला अधिकारीको नाम केन्द्रमा सिफारिस गर्यो । तर, टिकट तुलसीरामले पाए ।
प्रबल सम्भावना हुँदा हुँदै शिवनारायणले टिकट पाएनन् । यसको एउटा मात्रै कारण जुवा काण्डसम्बन्धी विवाद रहेको नेताहरुले बताएका छन् । ‘शिवनारायणको भूगोलमा राम्रो थियो । जित्ने सम्भावना भएका उनी नै थिए । तर, जुवा काण्डले गरेर टिकट नै गुम्यो । चुनावको मुखमा विवादमा परेपछि अध्यक्षको उम्मेदवार बन्ने सम्भावना सकियो,’ एमालेका एक नेता भन्छन् ।
स्रोतका अनुसार शिवनारायणको नाम जुवा खाल सञ्चालन गर्नेमध्येमा आउँछ । तर, शिवनारायण भने जुवाका कारण टिकट नपाएको कुरा मान्न तयार छैनन् । ‘जुवाका कारण मैले टिकट नपाएको हैन । त्यसले मलाई कुनै असर गर्दैन थियो । म चुनाव जितिहाल्थें,’ उनी भन्छन्, ‘पार्टीको आन्तरिक झमेलाले गर्दा अध्यक्षको उम्मेदवार बन्न पाइएन । अध्यक्षको आकांक्षी थिएँ । पार्टीले टिकट दिएन ।’
तर, टिकट नपाउँदा कुनै असन्तुष्टि नरहेको र पार्टीको निर्देशन मान्ने उनी बताउँछन् । ‘पार्टीले गरेको निर्णय स्वीकार्य छ । अब पार्टीको आधिकारिक उम्मेदवारलाई जिताउन लाग्छु । चुनाव एमालेकै उम्मेदवारले जित्ने हो,’ शिवनारायणले भने, ‘अहिले कार्यकाल पनि धेरै छैन । २०८४ साल पनि आउँदै छ । त्यतिबेला मैले नै टिकट पाउने हो ।’
एमाले मोरङका अध्यक्ष बाबुराम कार्की पार्टीले आवश्यकता हेरेर र जनभावनाको सम्बोधन गर्नेगरी उम्मेदवार चयन गरेको बताउँछन् । ‘शिवनारायण जीलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर ठाउँको खोजी भएकै हो । उहाँ (शिवनारायण) मजवुत र जिम्मेवार नेता हो,’ उनी भन्छन्, ‘सबै कुरा समयकाल र परिस्थित अनुसार हुन्छ । पार्टीले टिकट उहाँलाई नदिनुको पछाडि विविध कारण हुन सक्छन् ।’
पार्टीले ‘फेयर’ उम्मेदवार खोज्ने क्रममा तुलसीरामको नाम आएको कार्कीले बताए । ‘एमालेले तुलसीरामलाई उम्मेदवार बनायो । शिवनारायण जीलाई अहिले तपाईं बस्नुपर्छ र अर्कोलाई ठाउँ दिनुपर्छ भनेर सम्झायौं,’ उनले भने ।
नेपाली कांग्रेसबाट गाउँपालिकाको अध्यक्षमा पार्टीका पूर्वमहासमिति सदस्य एवं कांग्रेस मोरङको सल्लाहकार समिति सदस्य बलराम सरदार र नेकपा (माओवादी केन्द्र)बाट पूर्ववडाध्यक्ष नमोनारायण माझीलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

























